Home मुख्य समाचार मकवानपुर जिल्लास्थित कार्यालय सुचारु गर्ने प्रयास हुँदै

मकवानपुर जिल्लास्थित कार्यालय सुचारु गर्ने प्रयास हुँदै

हेटौँडा : भदौ २४ गतेको विध्वंसले क्षति पुगेपछि जिल्लास्थित सरकारी कार्यालयहरु सुचारु गर्ने प्रयास थालिएको छ । स्थानीय प्रशासनको समन्वयमा कार्यालय सुचारुको प्रयास भइरहेको हो ।

मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठका अनुसार बिहीबार पनि कार्यालय प्रमुखहरुसँग अनौपचारिक छलफल भएको थियो । कफ्र्यु जारी रहेकाले सेवाग्राही आउने अवस्था नभए पनि आगजनीका कारण कार्यालयमा पुगेको क्षतिको विवरण संकलन गर्ने, कार्यालय सुचारु गर्न आवश्यक तयारी गर्न कार्यालय प्रमुखहरुलाई भनिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुभयो ।

मकवानपुर जिल्लास्थित अधिकांश सरकारी कार्यालयमा क्षति पुगेको छ । हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले पनि उपमहानगरको नियमित सेवा प्रदान गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले कार्यालयको सरसफाईसँगै सेवा सुचारु गर्न आवश्यक तयारी सुरु गरिएको जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत गौतमका अनुसार उपमहानगर प्रमुख मीना कुमारी लामा र उपप्रमुख राजेश बानियाँ बुधबारदेखि नै सम्पर्कमा हुनुहुन्न । ‘बुधबार नगरप्रमुखसँग सम्पर्क भए पनि कहाँ हुनुहुन्छ भन्ने यकिन भएन’, प्रशासकीय प्रमुख गौतमले भन्नुभयो, ‘उपप्रमुख घरमा श्राद्ध छ भन्दै हुनुहुन्थ्यो । त्यसपछि दुबैजनासँग सम्पर्क हुन सकेको छैन ।’

हेटौँडा उपमहानगरपालिकाको कार्यालयसँगै ३, ४, १०, ११, १५, १९ नम्बर वडामा पूर्ण क्षति पुगेको छ । हेटौँडा उपमहानगरपालिका परिसरमा रहेको साना ठूला गरी ११ वटा गाडी, २१ वटा मोटरसाइकल जलेर नष्ट भएको छ ।

Exit mobile version