हेटौँडा : देशका विभिन्न स्थानबाट भागेका ४७ कैदीबन्दीलाई मकवानपुरबाट नियन्त्रणमा लिएको छ । मकवानपुुरको विभिन्न स्थानबाट सेना र प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।
भीमफेदी कारगारबाट भागेका २६० कैदीबन्दी मध्ये ४३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । प्रवक्ता अर्याल अनुसार भागेर हेटौँडा तर्फ आउँदै गरेको अवस्थामा उनीहरुलाई भैँसे, सुपारेटार व्यारेक तथा राप्ती खोला किनारबाट नियन्त्रणमा लिइएको हो ।
त्यस्तै नख्खु कारागारबाट भागेका २ जनालाई सुपारेटारस्थित सेना र प्रहरीको चेकपोइन्टबाट नियन्त्रणमा लिएको हो भने तनहुँबाट भागेर आएका २ जना कैदीबन्दीलाई हेटौँडा बजारस्थित प्रहरीको चेक पोइन्टबाट नियन्त्रणमा लिइएको हो । त्यस्तै प्रहरीले हेटौँडा–११ स्थित बाल सुधारगृहबाट भागेका ७२ जन बालक मध्ये २३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुलाई हेटौंडा–९ स्थित त्रिवेणीधामको नदी किनारबाट नियन्त्रणमा लिइएको हो । बाल गृहबाट भागेका ४९ जना अझै फरार रहेका छन् । प्रवक्ता अर्यालका अनुसार भागेका कैदीबन्दीहरुको खोजी कार्य जारी रहेको छ ।











