हेटौँडा : मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारबाट गए राति २६० कैदीबन्दी भागेका छन् । देशभरबाट कैदीबन्दी भाग्ने क्रम चलिरहँदा भीमफेदीका कैदीबन्दीले मध्यराती सुरक्षा घेरा तोडेर भागेका हुन् ।

कैदीबन्दी भाग्ने प्रयास गरेपछि कारागारमा तनावको स्थिति सिर्जना भएको थियो । कारागारको पर्खाल तोडेर भाग्न खोज्ने क्रममा नेपाली सेनाले २०० बढी हवाई फायर गरेको थियो । कारागारको गाडी लिएर भाग्ने क्रममा सेनाले गाडीको टायरमा गोली चलाउँदा एक कैदी घाइते भएको कारागार प्रमुख सुवास पौडेलले जानकारी दिनुभयो ।

घटनापछि कारागारमा ठूलो क्षति पुगेको छ । उहाँका अनुसार गएराति करिब १२ः२५ बजे कारागारको ‘क’ ब्लकमा रहेका कैदीबन्दीहरूले सिलाइकटाइ मेसिन रहेको कोठाको गेटको बार ह्याक्सो ब्लेडले काटेर भाग्ने प्रयास गरेका थिए । सिसिटिभीबाट घटनाबारे थाहा पाएलगत्तै नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा टोलीले स्थिति नियन्त्रणमा लिने प्रयास गरेको उहाँले बताउनुभयो । कैदीबन्दीहरूले होहल्ला र तोडफोड गरेका थिए ।

सो क्रममा कैदी र सुरक्षाकर्मीबीच झडप समेत भएको र स्थितिलाई नियन्त्रणमा लिन सेनाले २०० राउन्ड हवाई फायर र ७ राउन्ड अश्रुग्यास प्रहार गरेको कारागार प्रमुख पौडेलले जानकारी दिनुभयो । जवाफी कारबाहीमा भाग्न खोजेका कैदी जंगबहादुर नारायणजंगको खुट्टामा गोली लागेको उहाँले बताउनुभयो । जंगबहादुरलाई बिहान ४ बजे उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइएको थियो । उपचारपछि जंगबहादुरलाई कारागार पुर्‍याइएको बताइएको छ । भाग्ने प्रयासमा संलग्न अन्य कैदीहरूलाई सुरक्षाकर्मीले बिहान २ः३० बजेसम्ममा पूर्णरूपमा नियन्त्रणमा लिएर सम्बन्धित ब्लकमा फिर्ता गरेको थियो ।

झडपका क्रममा कैदीहरूले कारागार प्रशासनको कार्यालय भवन तथा आवासमा आगजनी र तोडफोड गरेका छन् । आगजनीबाट कार्यालयका महत्वपूर्ण अभिलेख, कम्प्युटर, फर्निचर लगायतका सामग्रीहरू पूर्णरूपमा नष्ट भएका छन् । साथै, प्रशासनको बा १ झ ३६३४ नम्बरको जिपमा पनि तोडफोड गरी क्षति पुर्‍याइएको छ ।