हेटौँडा : ‘धीमहि’ उपन्यासमाथि हेटौँडामा शनिबार अन्तरक्रिया भएको छ । हेटौँडा–४, भैरवरोडस्थित किताबघरमा आयोजनामा भएको अन्तरक्रियामा ‘धीमहि’ उपन्यासका लेखक साहित्यकार जयराम तिमल्सिनाले आफ्नो उपन्यास पढ्दै गर्दा पाठकले धेरै कुरा आफैंले सोँच्नुपर्ने बताउनुभयो ।
कतिपय सन्दर्भ ३/४ ठाउँमा लेखेको बताउनु हुँदै पुस्तकको गातामा मानवको आधा चित्र बनाउनुको कारण यस उपन्यासमा पाठकले धेरै कुरा आफैले सोच्नु पर्ने रहेको उहाँले बताउनु भयो । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक–२, ढुङ्खर्कका तिमल्सिनाको पहिलो कृतिको रुपमा धीमहि २०८१ पुसमा प्रकाशन भएको हो । अन्तरक्रियामा साहित्यकार शान्ति प्रियबन्दना र रामप्रसाद सापकोटाले धीमहिमाथि टिप्पणी गर्नुभएको थियो । धीमहिमा मुख्य पात्रको रुपमा सुयोग, दिपेन्द्र र विभेद रहेको छ ।
उपन्यासको विषयवस्तु सहरी परिवेशबाट सुरु भई ग्रामिण परिवेशमा अन्त्य भएको र बौद्धिक पाठकलाई लक्षित गरी यो उपन्यास लेखिएको साहित्यकार शान्ति प्रियबन्दनाले बताउनुभयो । यसमा पुरुष पात्रको बाहुल्यता रहेको, लैङ्गिक असमानता, वर्गीय शोषण र सामाजिक विसंगतिको चित्रण गरिएको उहाँले बताउनुभयो । त्यसैगरी पारिवारिक र सामाजिक संघर्ष, ध्यान, योगको कुरा, देशको माया र नारी स्वतन्त्रता यस उपन्यासमा चित्रण गरिएको उहाँले बताउनुभयो । लेखनमा व्याकरणिक त्रुटिहरु धैरै रहेको शान्ति प्रियबन्दनाको भनाइ छ ।
त्यसैगरी रामप्रसाद सापकोटाले ध्यानको उदाहरण उत्तम रहेको बताउनुभयो । उहाँको विचारमा उपन्यासको मुख्य विषयवस्तु दीपेन्द्रको मृत्यु र मृत्युको कारण पहिचान नहुनुमा आधारित रहेको छ । मुख्य पात्र विभेद नै विश्वास योग्य नरहेको र उसको चरित्र स्पष्ट नभएको उहाँको भनाइ छ । यस उपन्यासमा नेपालको अनुसन्धान पद्दतिलाई कमजोर देखाउन खोजिएको सापकोटाले बताउनुभयो । कार्यक्रममा साहित्यकार देवराज खरेल, संप्रस पौडेल, सुदीप राज गिरी, नरेन्द्रकुमार नगरकोटीको आतिथ्य रहेको थियो ।











