सांकेतिक तस्वीर ।

हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकामा १÷१ जना मृत भेटिएका छन् । भरतपुर महानगरपालिका–१७, मदनपार्क नजिकै नारायणी नदीको बीचमा रहेको टापूमा एकजना पुरुषको शव भेटिएको छ । शनिबार दिउँसो १२ बजेको समयमा सडेर गलिसकेको पुरुष व्यक्तिको शव फेला परेको भन्ने खबर प्राप्त भएपछि प्रहरी पुगेको थियो । प्रहरीले शव भरतपुर अस्पताल पठाएको छ ।

यस्तै चितवनकै इच्छाकामना गाउँपालिका–६, नौकिलोमा अन्दाजी ६० वर्षीय पुरुष बेवारिसे अवस्थामा लडिरहेको जानकारी पाएपछि प्रहरीले ती पुरुषलाई भरतपुर अस्पताल पठाइएको थियो । उपचारको क्रममा ती व्यक्तिको शनिबार दिउँसो १ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६, बलेनिघाटमा एक किशोरको डुबेर मृत्यु भएको छ । शुक्रबार दिउँसो ३ बजेर ४० मिनेटको समयमा १४ वर्षीय प्रख्यात मग्राती सुनकोशी नदीको किनारमा पौडी खेल्ने क्रममा अचानक डुबी वेपत्ता भएका थिए । शनिबार बिहान ९ बजेको समयमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन वेशबाट खटिएको टोलीले प्रख्यातको शव बरामद गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।