हेटौँडा : हेटौँडा–१०, बसपार्क क्षेत्रमा रहेका होटल तथा डान्सबारहरुमा अनुगमन भएको छ । बुधबार साँझ ५ बजेर ३० मिनेटको समयमा बसपार्क क्षेत्रमा रहेका होटल तथा डान्सबारहरुमा मानव बेचबिखन ओसारपसार सम्बन्धी अनुगमन कार्य गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
अनुगमनका क्रममा सामाजिक विकास मन्त्रालयबाट सामाजिक विकास महाशाखा प्रमुख इन्दिरा ओझाको नेतृत्वमा टोली खटिएको थियो । अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज न्यौपाने, हेटौँडा उपमहानगरपालिकाको महिला तथा बालबालिका समावेशीकरण शाखा प्रमुख मन्दिरा थापा, माईती नेपाल मकवानपुरकी संयोजक माया लामा, हिमराईट्स नेपाल मकवानपुरकी प्रमुख कुमारी वाईवा, सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत लक्ष्मण पुडासैनी, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी निरक्षक सुरेन्द्र बर्तौला, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरक्षक राजु प्रसाद कुर्मी र प्रहरी चौकी बसपार्कका प्रहरी सहायक निरीक्षक लालमणि शिवाकोटीको टोली अनुसन्धानमा सहभागी भएको थियो । टोलीले राती ७ बजेसम्म निरीक्षण गरेको थियो ।
