हेटौँडा : हेटौँडा–१८, हर्नामाडीस्थित ज्योति माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) मा शुक्रबार विभिन्न कार्यक्रम गरी मानव बेचबिखन तथा ओसारपसार विरुद्धको दिवस मनाइएको छ । ‘तीनै तहको सरकार मिली गरौं हातेमालो : मानव बेचबिखनको हटाऔँ दुष्चक्रको जालो’ भन्ने नाराका साथमा १९ औँ राष्ट्रिय दिवस मनाइएको हो ।
विद्यालय परिसरबाट सुरु भएको ¥याली १८ नम्बर वडा कार्यालय पुगी रामधुनी चोकमा सडक नाटक प्रदर्शन गरेर समापन गरिएको थियो । ‘मानव तथा मानव अङ्ग बेचबिखन विरुद्ध अभियान’ नामक सडक नाटक प्रदर्शन गरिएको थियो । सोही विद्यालयका विद्यार्थीद्वारा मञ्चन गरिएको सडक नाटकको लेखन तथा निर्देशन सोही विद्यालयका शिक्षक, साहित्य विभाग प्रमुख रत्नलाल कण्डेलले गर्नुभएको थियो । ¥याली तथा सडक नाटकमा शिक्षक, विद्यार्थी, वि.व्य.स., नगरवासी, वडा प्रतिनिधि, प्रहरी आदि समुदायको उपस्थिति रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक पूर्णचन्द्र काफ्लेले विद्यार्थी र समाजमा सकारात्मक प्रभाव पार्ने यस्ता जनचेतनामूलक सडक नाटक समय–समयमा देखाउन पर्ने बताउनुभयो । नाटकमा वर्तमान समयमा पढेलेखेका शिक्षित व्यक्ति पनि काम गर्ने, पढ्ने, घुम्ने नाममा विदेश पुगी दुख पाउने गरेको दृश्य देखाइएको थियो । विदेश जानुहुँदैन, आफ्नै देशमा परिश्रम गर्नुपर्ने भाव दर्शाउँदै जानै पर्ने भए प्रचलित कानुन बमोजिम श्रमस्विकृति लिएर विदेश जानु पर्ने सन्देश सडक नाटकले दिएको थियो ।
















