हेटौँडा : मकवानपुर पनि जापानिज इन्सेफलाइटिस (जेई) का विरामी पहिचान भएको छ । हेटौँडा अस्पतालमा उपचाररत एक विरामीमा जेई पुष्टि भएको डा. प्रशान्त विडारीले जानकारी दिनुभयो ।
भदौ ९ गते हेटौँडा अस्पतालमा भर्ना भई उपचाररत मकवानपुरको बकैया गाउँपालिका–६, जुइनाका ६३ वर्षीय वृद्धमा जेई पुष्टि भएको हो । हेटौँडा अस्पतालमा ९ गते भर्ना भएका वृद्धलाई भदौ १० गतेबाट सघन उपचार कक्ष (आइसीयु) मा राखेर उपचार गरिएको थियो । काठमाडौंस्थित प्रयोगशालामा परीक्षणका लागि पठाइएको नमूनाको रिपोर्ट शुक्रबार प्राप्त भएको र परीक्षणका क्रममा जेई पुष्टि भएको डा. विडारीले बताउनुभयो ।
हालसम्म हेटौँडा अस्पतालबाट २० जना भन्दा बढी विरामीको जेईको आशंकामा परीक्षणका लागि काठमाठौंको टेकुस्थित प्रयोगशाला पठाइएको डा. विडारीले बताउनुभयो । ‘परीक्षणका लागि पठाइएका नमूना मध्ये एउटा नमूनामा जेई पुष्टि भएको छ’, डा. विडारीले भन्नुभयो, ‘जेई पुष्टि भएका विरामी ६ दिन आइसीयुमा उपचारपछि जनरल वार्डमा सारिएको छ । उहाँको स्वास्थ्य राम्रो छ ।’
