Home मुख्य समाचार मुख्यमन्त्रीको सहयोगमा कैलाशका लालकुमारको घर बन्ने

मुख्यमन्त्रीको सहयोगमा कैलाशका लालकुमारको घर बन्ने

घर बनाउन पेश्की स्वरुप २ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुहुँदै मुख्यमन्त्री बानियाँ ।

हेटौँडा : बागमती प्रदशेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको पहलमा कैलाश गाउँपालिकाका एक चेपाङ परिवारको घर बन्ने भएको छ । मुख्यमन्त्री नियुक्त हुनुभएलगत्तै आफ्नो निर्वाचन क्षेत्रको एक विपन्न परिवारको घर बनाउने घोषणा गर्नुभएका मुख्यमन्त्री बानियाँले हालसम्म ३ वटा परिवारको लागि घर बनाउन सम्झौता गरिसक्नुभएको मुख्यमन्त्री बानियाँको सचिवालयले जनाएको छ ।

सोमबार मात्र मुख्यमन्त्री बानियाँले विकट कैलाश गाउँपालिका–४, धुस्राङका लालकुमार प्रजा चेपाङको जीर्ण घर बनाउन पेश्की वापत रकम हस्तान्तरण गर्नुभएको छ । मुख्यमन्त्री बानियाँले आफ्नो सेवा सुविधा वापतको खर्चबाट सुरक्षित आवास निर्माणका लागि २ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको हो । ५० वर्षीय लालकुमार लामो समयदेखि असुरक्षित र जीर्ण घरमा बस्दै आउनुभएको बताइएको छ । २०३२ सालमा जन्मनुभएका उहाँका सन्तान छैनन् । श्रीमती सानुमाया चेपाङको पनि सानै उमेरमा हात जलेका कारण अपाङ्गता छ । लालकुमार २ कट्ठा नम्बरी र करिब ३–४ कट्ठा ऐलानी जग्गामा कृषि र बाख्रा–कुखुरापालन गरेर जीविकोपार्जन गर्दै आउनुभएको कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुुर मोक्तानले बताउनुभयो ।

उहाँका अनुसार आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले जीर्ण घर मर्मत गर्न नसक्दा उनीहरु जोखिम मोलेरै बस्न बाध्य थिए । उक्त अवस्थालाई मध्यनजर गर्दै कैलाश गाउँपालिकाले उहाँको सुरक्षित आवास निर्माणका लागि मुख्यमन्त्री समक्ष सिफारिस गरेको थियो । ‘गाउँपालिकाभित्र सीमान्तकृत समुदाय र अति विपन्न परिवार धेरै छन्, तीमध्ये पनि लालकुमारको अवस्था निकै दयनीय देखियो । सन्तान पनि नभएको, खरको छानो र काठपातले मात्र बेरिएको जीर्ण घरमा बसिरहेकोले हामीले सिफारिस गर्‍यौं’, उहाँले भन्नुभयो । यसअघि पनि मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिका–९ की मिठुमाया सुनार र राक्सिराङ गाउँपालिका–१ का सुमनसिं प्रजाको घर निर्माणका लागि सहयोग गरिसक्नुभएको छ ।

Exit mobile version