खेलकुद जीवनको अत्यन्तै महत्वपूर्ण भाग हो । यसले व्यक्तिलाई अनुशासित रहन मद्दत गर्छ । शिक्षण सिकाई क्रियाकलापको अभिन्न अंग हुनुका साथै पाठ्यक्रमको निर्दिष्ट उद्देश्यलाई पूरा गराउन खेलकुदको उत्तिकै महत्व रहेको पनि छ । खेल जीवनलाई संयमित र आत्मअनुशासनको मार्गमा डोर्याउने, नियमित गर्नुपर्ने दैनिकी पनि हो । यो वाक्यको गहनतालाई बुझेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनामा भएको एक हप्ते अन्तर कलेज बृहत खेलकुद प्रतियोगितामा हामीले भाग लिने अवसर प्राप्त गर्यौँ । हामी लगायत उक्त खेलकुद प्रतियोगितामा भाग लिने सबै टिमलाई सुदुर कर्णालीको यात्रा, अझ जुम्ला जस्तो खस भाषाको उद्गमस्थल, सिन्जा सभ्यताको जननी, कर्णालीको मुटुमा हुँदै गरेको प्रतिस्पर्धाले रोमाञ्चक बनायो । अझ म त झन कर्णालीको व्यक्ति । खसभाषी र अझ भनौ कर्णाली मेरो र म कर्णालीको, मेरो हर्ष र गर्वको कुनै सीमा थिएन । म हर्षित यस मानेमा थिए कि मेरा साथीहरुलाई कर्णाली महिमा उनीहरुलाई सत्कारको साथै सादृश्य गराउँदै थिएँ । उनीहरुका लागि मात्रै नभई समग्र देशका लागि कर्णाली एकादेशको कथा जस्तै लाग्छ । जे होस कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जुराएको यो अवसरले मेरा लागि शैक्षणिक मात्र नभई व्यक्तित्व विकासको एउटा अमिट अवसर पैदान गर्यो ।

हामी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा आयोजित अन्तर मेडिकल खेलकुद प्रतियोगितामा सहभागी हुन कलेजबाट डा. लोकेन्द्र यादव सरको नेतृत्वमा जम्मा २५ जनाको टोली बनाएर जुम्ला गएका थियौँ । हाम्रो यात्रा कलेज व्यवस्था गरिदिएको बसले सहज पार्यो । कोहलपुरसम्म उक्त बसमै यात्रा गरेका हामीलाई कोहलपुरदेखि जुम्लासम्मको लामो यात्रा कर्णाली स्वास्थ्य विज्ञानले उपलब्ध गराएको माइक्रोबसमार्फत जानुपर्यो । कलेजले कार्यक्रममा सहभागिता र तयारीका लागि आर्थिक सहयोग गरेको थियो साथै सम्पूर्ण संकायका गुरुवर्गहरुले आ–आफ्नोतर्फबाट केहि आर्थिक सहयोग गरी हामीलाई हौसला प्रदान गर्नु भएको थियो ।

हामीले कलेजबाट यात्रा सुरु गर्यौँ, गाडिमा चढ्नु अघि नै मनमा अनेकौँ जिज्ञासा र उत्साह भरिएका थिए । भित्री मधेशका हरिया खेत, टाढासम्म फैलिएका बस्तीहरु र सडक छेउका लहरै बजारहरू छोड्दै हामी उत्तरतिर अघि बढ्दै जाँदा क्रमशः डाँडाकाँडा, खोल्साखोल्सी र पाखापखेराले स्वागत गर्न थाले । बसको गति सँगै पछाडितिर दौडिरहेका रुखहरूले यात्रामा छुट्टै आनन्द थपिरहेका थिए ।

बसभित्र भने अर्कै संसार थियो । कोही साथीहरु रमाइरहेका थिए । यात्राको थकान मेटाउने अनेक जुक्तिमा साथीहरु लागेको थिए । साथीहरु माइक समातेर गाइने दोहोरी गीतमा मुग्ध भएर मन डुबाइरहेका थिए । दोहोरीमा ‘माया’ र ‘ठट्टा’ मिसिएको शब्दहरू सुनिँदा सबैजना हाँसिरहेका थिए । लोकेन्द्र सर भने हामीलाई हेरिरहनुहुन्थ्यो । दोहोरी सुन्दै हल्का मुस्कान छरेर हामीलाई अझै प्रोत्साहन दिइरहनु भएको त्यो दृश्य साँच्चै अविस्मरणीय थियो । बसको भित्रि वातावरणले हामी सबैलाई एउटै परिवार बनाएको थियो, जहाँ थकाइ र लामो यात्राको कठिनाइ पनि संगीत र साथीहरूको साथले हराइरहेको थियो ।

कोहलपुरमा छोटो बसाइपछि हामी अर्कोदिन बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पठाएको अर्को गाडि चढेर पुनः यात्रामा निस्कियौँ । बस सुर्खेततिर लम्किँदै गर्दा भित्र फेरि आशिषको मधुर दोहोरीले सबैको ध्यान खिच्यो । गीतसँगै रमाइरहेका केटाहरूलाई गीतको मिठासले बाँधेर राखेजस्तो लाग्थ्यो । सुर्खेत पार गरेर दैलेखतर्फ जाँदा भने अलिक अलिक हिमालतिरको चिसो हावा र खोलाको सुगमधुर आवाजले यात्रालाई अझ रमाइलो बनाइरहेको अनुभव भयो । झ्यालबाट बाहिर हेर्दा देखिने हरिया डाँडाका लहर अनि कहिले काहीँ टाढाबाट देखिने बर्फिला शृङ्खलाहरूले हाम्रो मनलाई छुन पुगेका थिए । त्यो क्षणमा बसभित्र र बाहिर दुवैतिर जीवनको लय एकैसाथ बगिरहेको जस्तो लागिरहेको थियो । एक हप्ता लामो यो यात्रामा हामीले प्रतिस्पर्धा मात्र होइन, जीवनका बहुआयामिक अनुभवहरू बटुल्यौं ।

आयोजकको तर्फबाट आवास, यातायात र समन्वयको उत्कृष्ट व्यवस्था गरिएको थियो जसले हामीलाई सहज वातावरणमा खेलमा ध्यान केन्द्रित गर्न सहयोग गर्यो । खेलकुदतर्फ हाम्रो टोलीले फुटबल र टेबल टेनिसमा प्रथम स्थान, भलिबलमा दोस्रो र क्रिकेटमा तेस्रो स्थान हासिल गर्दै समग्रमा दोस्रो स्थान प्राप्त गर्यो । यी उपलब्धिहरूले हामी सबैमा गर्वको भावना भरिएको थियो । खेलपछि बेलुका हामीले अन्य कलेजका विद्यार्थीहरूसँग दोहोरी गीतमार्फत आत्मीय सम्बन्ध बनायौं । हासो, ठट्टा र संगीतको माध्यमबाट हामी सबैबीच गहिरो मित्रता विकास भयो । जुम्लामा रहँदा हामीले त्यहाँको स्थानीय उत्पादन जस्तै स्याउ र मार्सी चामलको स्वाद लियौं जसले जुम्लाको कृषि र जीवनशैलीप्रतिको सम्मान अझ बढायो । त्यहाँको भाषा, पोशाक र सांस्कृतिक व्यवहारसँग नजिक हुन पाउँदा हामीमा विविधताको सौन्दर्यता प्रति गहिरो समझ विकसित भयो ।

प्रतियोगिता सम्पन्न भएपछि हामीले रारा तालको भ्रमण पनि गर्यौँ । समुद्री सतहदेखि करिब २,९०० मिटरको उचाइमा रहेको रारा तालको शान्त, नीलो पानीमा हरियाली र हिमशृङ्खलाले भरिएको छायाँको दृश्यले हाम्रो आत्मालाई नै छोए जस्तो भयो । तालको किनारमा बसेर हामीले गीत गायौँ, फोटो खिच्यौं, रमाइलो गर्यौँ र प्रकृतिसँगको गहिरो सम्बन्धलाई अनुभव गर्यौँ । यो यात्रा केवल प्रतिस्पर्धा वा घुमघाम मात्र थिएन, यो जीवनको पाठशाला थियो, जहाँ खेलकुद, संस्कृति, मित्रता, आत्मअनुशासन र सहकार्यको महत्वपूर्ण पाठ हामीले ग्रहण गर्यौँ । यस अविस्मरणीय यात्राको सफलतामा हातेमालो गर्ने कलेज प्रशासन, आयोजक समिति र सहभागी सबैप्रति म र हामी हृदयदेखि आभारी छौँ ।