हेटौँडा : उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरमार्फत् जिल्लाका ७२ जनाले प्रविधि हस्तान्तरणका लागि अनुदान लिएका छन् । आर्थिक वर्ष २०८१–०८२ मा जिल्लाका कुल १ सय १ उद्यमीहरुले अनुदानका लागि आवेदन दिएकोमा ७२ जना उद्यमीहरुले प्रविधि हस्तान्तरण कार्यक्रम शीर्षकमा ५० प्रतिशत अनुदान लिएका हुन् ।

आवेदन दिएकामध्ये ९१ जना छनोटमा परेका थिए । उनीहरुमध्ये ८० जनासँग सम्झौता भएकोमा ७२ जनाले अनुदान लिएका छन् । अनुदानका लागि कार्यालयबाट कुल ५५ लाख रुपैयाँ बजेट बिनियोजन भएकोमा ४८ लाख २१ हजार ६ सय रुपैयाँ खर्च भएको कार्यालयका प्रमुख उद्योग अधिकृत रामप्रसाद भुषालले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम अन्र्तगत साना उद्योगमा प्रयोग हुने १० लाखसम्म मूल्य पर्ने आधुनिक प्रविधि जडित मेशिनरी सामग्रीहरु हस्तान्तरण गरिन्छ ।

प्रविधि हस्तान्तरण कार्यक्रमका लागि कार्यालयले सूचना प्रकाशन गरेर आवेदनको लागि आह्वान गर्ने गर्दछ । यसपछि प्राप्त आवेदनको आधारमा उद्योगको अनुगमन गरी छनोट गरिने र सम्झौतासहित कार्यक्रम अगाडि बढाउने प्रमुख उद्योग अधिकृत भुषालले स्पष्ट पार्नुभयो । बागमती प्रदेश सरकारको प्रविधि हस्तान्तरण कार्यबिधि २०८१ अनुसार प्रविधि हस्तान्तरणका लागि उद्योग तथा वाणिज्य कार्यालय प्रमुखको संयोजकत्वमा प्रस्ताव मूल्याङ्कन समिति रहेको हुन्छ । जसमा जिल्ला समन्वय समितिका अधिकृत, प्रदेश लेखा नियन्त्रक कार्यालयका अधिकृत, आवश्यकताअनुसार विज्ञसहितको समितिले अनुगमन मूल्याङकन गरी छनोट भएका उद्योगहरुलाई ५० प्रतिशत अनुदानको रुपमा ५ लाखसम्म दिइने व्यवस्था छ ।