हेटौंडा : विद्यालयस्तरीय यु-१४ क्वालिफाई फुटबल प्रतियोगिता हुने भएको छ । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा गौरीटार रंगशालामा प्रतियोगिता हुने भएको हो ।

गतवर्ष मकवानपुरको सिस्नेरीमा पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका ६ जना खेलाडीहरुको स्मृतिमा प्रतियोगिता हुन लागेको हो । सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका अनुपम घलान, साइमान योन्जन, दिवस बानियाँ, विकल रेग्मी, आदित्य बलम्पाकी र प्रियान्स आचार्यको स्मृतिमा प्रतियोगिता हुन लागेको जिल्ला फुटबल संघ मकवानपुरका सदस्य एव् प्रतियोगिताका संयोजक आलोक स्याङ्तानले जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्घाटन खेल भदौ २० गते र अन्तिम खेल ३० गते हुनेछ । इच्छुक विद्यालयले १८ गतेसम्म टिम दर्ता गराउन पाउनेछन् । टिम दर्ता शुल्क ५ हजार रुपैयाँ लाग्नेछ । प्रतियोगिताका विजेता टोलीले २५ हजार नगदसहित शिल्ड प्राप्त गर्नेछ । उपविजेता टोलीले १५ हजार नगदसहित शिल्ड प्राप्त गर्नेछ । महिला र पुरुषको छुट्टा छुट्टै प्रतियोगिता हुने संयोजक स्याङ्तानले बताउनु भयो ।

गत वर्षको प्रतियोगितामा कमाने–८ को चन्द्रोदय माध्यमिक विद्यालयलाई हराउँदै बस्तीपुरको निर्मल माध्यमिक विद्यालयले उपाधि उचालेको थियो । प्रतियोगिताको विजेता टोलीले एन्फाको आयोजनामा हुने प्रदेशस्तरीय खेल खेल्न पाउनेछ ।

मृतक खेलाडीहरुको सपना साकार पार्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको संयोजक स्याङ्तानले बताउनु भयो । उद्घाटन खेलको अवसरमा फिफा फर स्कूल कार्यक्रमका लागि आवेदन दिएका मकवानपुर जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई खेलकुद सामग्री वितरण कार्यक्रम रहेको संयोजक स्याङ्तानले जानकारी दिनुभयो ।