हेटौंडाः आज मंगलबार हरितालिका तिज मनाइँदैछ । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन भगवान शिवको पूजा आराधना गरेर हरितालिका तिज मनाइन्छ । विवाहित महिलाहरु पतिको सुस्वास्थ्य र प्रगतिको कामना गर्दै तथा अविवाहित महिला सुयोग्य पति पाउँ भनेर भगवान शिवको पूजा आराधना गर्दै ब्रत बस्दैछन् ।
हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि श्री महादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान दिन तयारी गरेका थिए । हिमालयको योजना थाहा पाएपछि सखीहरूले पार्वतीलाई हरेर लुकाएर राखेको ठाउँमै पार्वतीले महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका व्रत भन्ने गरिएको हो ।
भाद्र शुक्ल द्वितीयाका दिन राति दर खाएर तृतीयाका दिन व्रत बस्ने गरिन्छ । पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि तिज सम्पन्न हुन्छ । दिनभरि पानी पनि नखाई निर्जला वा निराहार बस्ने व्रत भएकाले एक दिनअघि नाचगान रमाइलो गरी राति दरका रूपमा मीठा–मीठा परिकार खाने चलन छ ।
तिजको दर खान विशेषगरी माइतीले छोरी–चेलीलाई बोलाउने र विवाहित महिलाले आफ्नो अटल सौभाग्यका लागि छोरीचेलीलाई चुरापोते प्रदान गर्ने चलन पनि यस पर्वमा पाइन्छ । हरितालिका व्रतका प्रभावले हिमालयपुत्री पार्वतीले भगवान् शिवजीलाई पतिका रूपमा प्राप्त गर्न सफल भएकाले तिजको व्रतको महत्व बढेको हो । त्यसैले राम्रो र चिताएको पति पाउन अविवाहित कन्याले पनि तिजको व्रत बस्ने गर्दछन् ।
स्कन्ध पुराण र लिङ्ग पुराणमा विभिन्न कथाका आधारमा प्रारम्भ भएको धार्मिक पर्व हरितालिका व्रतको पौराणिक महत्व एकातिर छ भने पौराणिक कथा र आख्यानलाई आत्मसात गर्दै सांस्कृतिक सञ्जीवनीले पनि यो पर्व ओतप्रोत छ । नारी स्वतन्त्रताको प्रतीकको रूपमा रहेको यस पर्वमा सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा महिलाहरू सजिने गर्छन् । यस अवसरमा हेटौँडामा रहेका विभिन्न शिवालयहरुमा ब्रतालुहरुको भिड लाग्ने गरेको छ ।










