नेपाली समाजमा हिन्दू महिलाहरुले मनाउने एउटा महत्वपूर्ण पर्व हो– तिज । पौराणिक कालदेखि मनाइँदै आएको तिजले धार्मिक, सांस्कृतिक, सामाजिक सबै आयामलाई समेट्दै आएको छ । नेपालका सबैजसो क्षेत्र र भारतका केही प्रान्तमा तिज मनाउने गरिन्छ । सबै छोरीचेली जम्मा भएर मनाइने तिजले महिलालाई स्वतन्त्रता र सन्तुष्टि प्रदान गर्दछ । विगतमा अधिकांश नेपाली महिलाहरु समाजले कोरेको संस्कार र घरपरिवारले बनाएको नियमको परिधिमा बाँधिनुपर्ने हुन्थ्यो । नारीले आफ्नो मनको इच्छा र भोगेको दुःख, पीडा उजागर गर्न कठिन हुन्थ्यो । यस्तो परिवेशमा नारी वेदनालाई गीतमार्फत् उजागर गरिन्थ्यो । आज पनि नेपाली महिलाहरुले आफ्नो परम्परा र संस्कारलाई जगेर्ना गर्दै तिज मनाउने गरेका छन् । तर, विगतको भन्दा हालको तिजको माहोल फेरिँदै गएकाले यसको गरिमा घट्दै गएको छ ।

नेपालमा भाद्र शुक्ल द्वितियादेखि पञ्चमीसम्म चार दिन तिज मनाइन्छ । द्वितीयाका दिन सबै चेलीहरु माइतीमा जम्मा भएर दरको रुपमा मीठा परिकार खाने गरिन्छ । तीजको दोस्रो तथा मुख्य दिन भाद्र शुक्ल तृतीयालाई हरितालिका पनि भनिन्छ । यस दिन अधिकांश महिलाहरु व्रत बसेर भगवान शिवको पूजा आराधना गर्दछन् । दिदी–बहिनी, साथी–सङ्गी भेला भएर नाचगान गर्ने गर्दछन् । सानैदेखि भगवान शिवलाई पतिको रुपमा पाउन पूजा र तपस्या गरेकी पार्वतीले यसै दिन शिवलाई पतिको रुपमा प्राप्त गरेको प्रसङ्ग विभिन्न धार्मिक ग्रन्थहरुमा पाइन्छ । तिजको तेस्रो दिन गणेश चतुर्थी हो । पार्वतीले प्रसव वेदनाबिना सन्तानको इच्छा गरेपछि महादेवको कृपाले पार्वतीले गणेशलाई पुत्रको रुपमा पाउन सफल भएको कथा यो पर्वसँग जोड्ने गरेको छ । तिजको चौथो तथा अन्तिम दिन ऋषिपञ्चमी मनाइन्छ । यस दिन महिलाहरुले नजिकको खोला, नदीमा नुहाएर सबै प्रकारले आफूलाई शुद्ध पारेर सप्तऋषिको पूजा गर्ने चलन छ ।

पूर्वीय मान्यताअनुसार सृष्टि र समाज चलाउन महिलाहरु विवाहपश्चात् आफ्नो श्रीमानको घरमा बसी जीवन बिताउनुपर्ने हुन्छ । वैवाहिक सम्बन्धपछि आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडेर महिलाले श्रीमानको घरमा गएर जीवन बिताउँछन् । घर र माइत टाढा भएको अवस्थामा विगतमा माइतीसँग भेटघाट र सम्पर्कका लागि तिज वा अन्य यस्तै चाडपर्व आउनुपथ्र्यो । त्यतिबेला अहिलेजस्तो यातायात तथा सञ्चारको सहज सुविधा पनि थिएन । यसैले विवाहित महिलालाई माइतीघर जाने, साथीसङ्गी तथा आफन्तसँग पुनर्मिलन गराउने अवसरको रुपमा तिज पर्वको विशेष महत्व थियो ।

तिज पर्वको नाममा पछिल्ला वर्षहरुमा विकृति पनि बढ्दै गएको छ । विशेषगरी तिज आउनुभन्दा महिनौं अघिदेखि दर खाने र खुवाउने, गरगहना तथा महंगा कपडा लगाउने प्रतिस्पर्धाले तिजलाई विकृत बनाउँदै लगेको छ । सरकारी तथा गैरसरकारी निकाय, शैक्षिक संस्था, सहकारी, टोल विकास संस्था, स्थानीय तह, वडा कार्यालय, औपचारिक तथा अनौपचारिक समूह सबैले तिजको अवसरमा दर कार्यक्रम आयोजना गर्ने क्रम बढिरहेको छ । हरितालिकाको दिन व्रत बस्नुपर्ने महिलाले अघिल्लो रात खाने दर महिनौं अघिदेखि खाने परिपाटीले तिजको मौलिकतामात्र कमजोर पारेको छैन, फजुल खर्च बढाएको छ । तिजको अवसरमा गाइने गीतहरुमा पनि थुप्रै विकृति बढेको छ । तिज गीतको नाममा छाडा र द्विअर्थी शब्दहरुको प्रयोग बढ्दै गएको छ । परम्पराको नाममा तिजलाई विकृत बनाउनु हुँदैन । तिजको मौलिकता र गरिमा कायम हुनेगरी तिज मनाउनु आवश्यक छ । हरितालिका तिजको सबै नेपाली महिलालाई शुभकामना ।