हेटौँडा : गजल मञ्च मकवानपुरले २२७औं गजल यात्राको अवसरमा सांगीतिक गजल साधनाको आयोजना गरेको छ । शनिबार साहित्य संगम–सिस्नुपानीको सभाहलमा गायक ईश्वर खड्का र गजलकार राम कार्कीको वाद्यवादनमा गजलकार ईश्वर खड्का र स्वस्तिका दाहालले संगीतमा गजल गाउनुभयो ।
यस्तै केशव समर्पणले पनि गजल गाउनुभयो भने देवराज तिवारीले गजल वाचन गर्नुभयो । २२८औं मोती जयन्तीको समेत अवसरमा आयोजित कार्यक्रममा साहित्यकार निमेष निखिलले ‘नेपाली गजल : विगत र वर्तमान’ शीर्षकमा कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो । गजल मञ्च मकवानपुरका अध्यक्ष सञ्जीत श्रेष्ठको अध्यक्षता तथा अग्रज साहित्यकार तुलसी घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौँडा–५ स्थित ज्ञानोदय बालबाटिका आवासीय विद्यालयले प्रायोजन गरेको थियो ।











