जीवन एउटा यात्रा हो, जहाँ सहारा, मार्गदर्शन र प्रेरणाको खोजी निरन्तर हुन्छ । मेरा लागि त्यो प्रेरणा र सहारा सधैँ मेरा बुबा हुनुहुन्छ । उहाँको माया, त्याग, संघर्ष र मार्गदर्शनले मेरो भविष्यलाई उज्यालो बनाउन सबैभन्दा ठूलो आधार तयार गरेको छ ।
बुबाको प्रेम प्रायः मौन हुन्छ, तर अत्यन्तै गहिरो हुन्छ । उहाँ सधैँ आफ्ना साना इच्छाहरू दबाएर हाम्रो सानो खुसीलाई प्राथमिकता दिनुहुन्छ । बिहान सबेरै उठेर बेलुकीसम्म पसिना बगाउने उहाँको संघर्ष देख्दा म जीवनमा सहजै हात उठाएर हार मान्न सक्दिनँ । थकाइ र पीडालाई मुस्कानले ढाकेर हामीलाई भविष्यप्रति आशावादी बनाइरहनु हुन्छ, जुन मेरा लागि प्रेरणादायी उदाहरण हो । उहाँको त्याग अमूल्य छ । नयाँ लुगा, नयाँ सपना वा विश्रामका केही क्षणलाई पनि बुबाले धेरै पटक आफ्नो जीवनबाट हटाउनु भएको छ । तर छोराछोरीको शिक्षा, भविष्य र सफलतालाई भने उहाँले कहिल्यै सम्झौता गर्न दिनुहुन्न । उहाँकै त्यागले मलाई पनि जीवनमा धैर्यवान्, परिश्रमी र इमानदार बन्न सिकाएको छ ।
बुबाले सिकाउनुभएको एउटा गहिरो पाठ छ, ‘कठिनाइ जीवनको अन्त्य होइन, नयाँ अवसरको सुरुवात हो ।’ यही भनाइले मलाई कठिन परिस्थितिमा पनि दृढतापूर्वक उभिन प्रेरित गरेको छ । उहाँको प्रेरणाले मेरो भविष्यको बाटो केवल उज्यालो मात्र होइन, दृढ र सम्भावनापूर्ण पनि बनाएको छ ।
यसरी हेर्दा मेरो भविष्य बुबाको प्रेम, त्याग, संघर्ष र प्रेरणामै अडिएको छ । उहाँको जीवनशैली मेरा लागि मार्गदर्शन बनेको छ । म पनि भविष्यमा उहाँझैँ श्रमशील, इमानदार र समाजोपयोगी व्यक्ति बन्ने सङ्कल्प गर्दछु । साँच्चै भन्नुपर्दा, मेरो जीवनको दिशा र गन्तव्य बुबाको प्रेरणाले नै तय गरेको छ ।
















