यस धर्तीमा जन्म लिएका हरेक प्राणीको खास जीवन चक्र हुने गर्दछ । साधारणतया सबैले त्यो चक्र पुरा गर्दछन् । जन्मेपछि एक शिशु, युवा, वयस्क हुँदै वृद्ध अवस्थासम्म पुग्छ जुन प्राकृतिक प्रक्रिया नै हो । हरेक व्यक्तिले वृद्ध अवस्थाको अनुभूति गर्ने अवसर पाउने हुन् भने यो अवस्थालाई धेरै भन्दा धेरै स्वस्थ, सक्रिय तथा सिजर्नशील बनाउन सकिन्छ । आजको विश्वमा वृद्धवृद्धाहरुको जनसंख्या बढ्दै छ र यो अवस्था दक्षिण एसियाली मुलुकमा त झन् छिट्टै बढ्दैछ । विश्व स्वास्थ्य संगठनका अनुसार ६० वर्ष र सोभन्दा माथिका व्यक्तिहरूलाई वृद्ध भनिन्छ । आजको बदलिँदो सामाजिक, आर्थिक तथा राजनैतिक अवस्था र जीवनशैलीका कारणले हरेक ज्येष्ठ नागरिकहरुलाई स्वस्थ र सक्रिय राख्न परिवार, समाज तथा राज्यको ठुलो भूमिका रहन्छ । यस सम्बन्धमा निम्न १० ज्येष्ठ नागरिकका आवश्यकताहरुलाई छोटकरीमा सबैलाई जानकारी तथा उपयोगी बनोस भनी प्रस्तुत गरिएको छ । यो सामग्री विद्युतीय सञ्च माध्यमबाट पनि साभार गरिएको छ ।
१) राम्रो स्वास्थ्य : वृद्धावस्थामा सक्रिय जीवनयापनका लागि स्वस्थ रहनु अत्यन्तै जरुरी हुन्छ । स्वास्थ्य राम्रो हुनु भनेको कसै माथि भर नपर्नु हो । वृद्धावस्थामा हाडजोर्नी सम्बन्धी समस्या तथा लगातार पिसाब चुहिने समस्याले गर्दा ऊहाँहरुले अरुको भरमा जीवनयापन गर्नु पर्ने हुन्छ । यस्तो अवस्थामा गुणस्तरीय सेवाको जरुरी पर्दछ जुन घरपरिवारले व्यवस्था गरिदिनु पर्ने हुन्छ । यदि घरपरिवारमा त्यो वातावरण नभएमा सामुदायिक संघ संस्था र स्थानीय सरकारले व्यवस्थापन गर्न सक्छन् ।
२) सबैसँगको सुमधुर सम्बन्ध : आफ्ना प्रियजन, साथीभाइहरुसँगको मजबुत सम्बन्धले ज्येष्ठ नागरिकहरुलाई एक्लोपनबाट बचाई मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न मद्दत गर्दछ । यसका लागि परिवारका सदस्यहरुसँग बराबर संवाद गर्ने, आफुलाई मनमा लागेका कुरा साथीभाईहरुसँग साट्ने, आदानप्रदान गर्ने तथा छोरा, छोरी, बुहारी, श्रीमान्–श्रीमती, दाजुभाइहरुले आफ्ना लागि गरेका राम्रा काम कुराहरुका बारेमा सकारात्मक हुने आदि भएमा पारिवारिक सम्बन्ध अझ प्रगाढ बन्न सक्छ ।
३) कार्यतालिका : ज्येष्ठ नागरिकहरुका लागि दैनिक कार्यतालिका निश्चित गर्नु उपयोगी हुन्छ । जस्तै नास्ता, खाना, सुत्ने, उठ्ने, सकेको काम गर्ने आदि । यसो गर्न सकेमा ऊहाँहरु अल्मलिनु हुन्न । सेवा प्रदान गर्ने परिवारिक सदस्य वा अन्य व्यक्तिहरु माथि ऊहाँहरुले विश्वास पनि गर्नु हुन्छ ।
४) खाना : ज्येष्ठ नागरिकका लागि खाना विशेष हुने गर्दछ । बेला वखत समुदायमा हुने सामाजिक रितिरिवाज अनुसार सानातिना भोज कार्यक्रममा ज्येष्ठ नागरिकलाई पनि सहभागी गराउन राम्रो हुन्छ । ऊहाँहरुका लागि स्वादिष्ट तर स्वस्थकर खाना खुवाउन उचित हुन्छ । खाना पोषिलो र सजिलै पच्न सक्ने पनि हुनु पर्छ ।
५) समुदायमा पहिचान कायम राख्ने : ज्येष्ठ नागरिकहरुलाई बेलावखत सामाजिक क्रियाकलापमा पनि सहभागी गराउन उपयुक्त हुन्छ । ऊहाँहरुले विगतमा गरेका उदाहरणीय कामहरुको सबैको सामू प्रस्तुत गर्ने अवसर दिँदा समुदायले उहाहरुको उच्च कदर गर्नुका साथै उहाहरुको पनि मनोबल उच्च रहन्छ ।
६) आदर सम्मान : ज्येष्ठ नागरिकहरु आदर सम्मानका पात्रहरु हुनुहुन्छ । ऊहाँहरुले आफ्नो र आफ्ना परिवार तथा समाजका लागि गर्नु भएको योगदानको उच्च मूल्यांकन गर्दै बेलावखत सम्मान कार्यक्रम आयोजना गर्न सकिन्छ । यस्ता कार्यबाट युवापुस्ताले पनि उक्त कार्यको अनुशरण गर्न सक्दछन् । ऊहाँहरुलाई आदरभावले सम्वोधन गर्नुका साथै सेवा प्रदान गर्नु अत्यन्तै जरुरी हुन्छ ।
७) योगाभ्यास, व्यायाम ः ज्येष्ठ नागरिकहरुको शरीरले साथ दिएसम्मको उचित व्यायाम, योगाभ्यास गर्नु राम्रो मानिन्छ । साधारण हिँड्डुल गर्ने, नाच्ने, खेल्ने आदि कार्यले शारििरक, मानसिक तथा आध्यात्मिक स्वास्थ्यलाई मजबुत बनाउँदछ ।
८) सुविस्ता÷सहजता : जेष्ठ नागरिकहरुलाई कुनै पनि किसिमको तनावपूर्ण वातावरणमा नराख्नु वेस हुन्छ । ऊहाँहरुको जवानी अवस्थामा धेरै तनाव लिएर आफ्ना घर परिवारहरुको सम्पन्नताका लागि धेरै कार्य गरिसक्नु भएको छ । घर परिवारसँग बस्दा ऊहाँहरुलाई बढी सुविस्ता महसुस हुन्छ भने सोही अनुसारको व्यवस्था गर्न उत्तम हुन्छ । यदि घर–परिवार छिन्न भिन्न भई ऊहाँको सेवा गर्ने व्यक्तिहरु छैनन् भने सरकार तथा सामाजिक संघ संस्थाहरुले उहाँहरुलाई चाहिने व्यवस्थापन गर्नु पर्दछ ।
९) आर्थिक सुरक्षा : मानिसहरुको हरेक अवस्थामा आर्थिक रुपले सुरक्षित हुनु जरुरी हुन्छ तर वृद्ध अवस्थामा यो अझै महत्वपूर्ण बन्छ । वृद्ध अवस्थामा मानिसहरु सक्रिय रुपमा काम गरी आर्थिक उपार्जन गर्न नसक्ने अवस्था हुनाले सामाजिक सुरक्षाको व्यवस्था उचित ढंगले हुनु अत्यन्तै जरुरी हुन्छ । स्वभिमानता उच्च कदर गर्नु पर्दछ । यदि ऊहाँहरु आफुले सक्ने कामहरु गर्न चाहनु हुन्छ र सक्नु हुन्छ भने गर्न दिन पर्दछ । यसले ऊहाँहरुको आत्म सम्मानलाई सधै उच्च राख्दछ ।
