हेटौंडा : १८ औँ पुस्तकालय दिवसको अवसरमा निबन्ध प्रतियोगिता हुने भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले मंगलबार सूचना जारी गर्दै प्रतियोगिताका लागि सामुदायिक तथा निजी विद्यालयहरुलाई सहभागी हुन आग्रह गरेको छ ।

निबन्धको शीर्षक “हाम्रो पुस्तकालय, हाम्रो भविष्य” रहेको सूचनामा उल्लेख छ । निबन्ध ५ सयदेखि १ हजार शब्दमा लेख्नु पर्नेछ । प्रतियोगितामा बागमती प्रदेशभित्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुमात्रै सहभागी हुन पाउनेछन् । एउटा विद्यालयबाट एक जना विद्यार्थीमात्रै सहभागी हुन पाइनेछ ।

प्रतियोगितामा सहभागी विद्यार्थीले लेखेको निबन्ध सम्बन्धित विद्यालयको प्रधानाध्यापकले विद्यार्थीको नाम थर, ठेगाना, अध्ययनरत कक्षा र सम्पर्क नम्बरसमेत उल्लेख गरी शिक्षा विकास निर्देशनालयमा सिफारिस गर्नु पर्नेछ । विद्यार्थीले लेखेको निबन्ध र विद्यालयको सिफारिसपत्र शिक्षा विकास निर्देशनालयको इमेलमा पठाउनु पर्नेछ । भदौ १० गते साँझ ५ बजेसम्म पठाएको निबन्धलाई प्रतियोगितामा सहभागी गराइने सूचनामा जनाइएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुको नतिजा भदौ १५ गते सार्वजनिक गरिनेछ ।