Home मुख्य समाचार एक वर्षमा वैदेशिक रोजगारमा रहेका मकवानपुरका १६ जनाको मृत्यु

एक वर्षमा वैदेशिक रोजगारमा रहेका मकवानपुरका १६ जनाको मृत्यु

हेटौंडा : वैदेशिक रोजगारमा रहेका मकवानपुरका १६ जनाको एक वर्षभित्रमा मृत्यु भएको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा वैदेशिक रोजगारका क्रममा मलेसियालगायत खाडी मुलुकहरुमा काम गरिरहेका १६ जनाको मृत्यु भएको हो ।

मृत्यु भएकामध्ये ७ जना मलेसियामा, ५ जना संयुक्त अरब इमिरेट्स (युएई)मा र साउदी अरबमा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमध्ये हेटौंडा उपमहानगरपालिकाका ८ जना, मनहरी र बकैया गाँउपालिकाका २/२ जना, थाहा नगरपालिकाका २ जना तथा मकवानपुरगढी र भीमफेदी गाँउपालिकाका एक–एक जना रहेको आप्रवासी स्रोत केन्द्र मकवानपुरले जानकारी दिएको छ । हालसम्म १४ जनाको शव ल्याउने तथा क्षतिपूर्ति दिलाउने काम भइसकेको केन्द्रले जनाएको छ ।

अत्यधिक गर्मीमा काम र चिसोमा आराम गर्दा शरीरको तापक्रममा सन्तुलन हुन नसकेको, सडक दुर्घटनामा परेकोलगायतका कारणबाट उनीहरुको मृत्यु भएको केन्द्रले जनाएको छ । मृत्यु हुनेहरु सबै पुरुष रहेका छन् ।

वैदेशिक रोजगार बोर्डबाट श्रम स्वीकृति लिएका १३ जना मृतकको परिवारलाई क्षतिपूर्तिबापत ९५ लाख तथा बिमाबापत १ करोड ३४ लाख रुपैयाँ केन्द्रको समन्वयमा दिलाइएको केन्द्रले जनाएको छ । १६ मृतकहरुमध्ये एक जना मृतक भिजिट भिसामा गएकाले र एक जनाको श्रम स्वीकृतिको समयसीमा सकिएकाले क्षतिपूर्ति तथा बिमाबापतको रकम दाबी गर्न नमिलेको केन्द्रकी सूचना तथा परामर्शकर्ता पार्वती बिकले जानकारी दिनुभयो ।

गत वर्ष केन्द्रले वैदेशिक रोजगारको सिलसिलामा अंगभंग भएको जिल्लाका ५ जना कामदारले २२ लाख ५५ हजार रुपैयाँ क्षतिपूर्ति पाएको केन्द्रले जनाएको छ । स्वदेशमा ठगीमा परेका ५० जनालाई ३२ लाख २८ हजार रुपैयाँ पीडकमार्फत् क्षतिपूर्ति दिलाइएको छ भने केन्द्रले वैदेशिक रोजगार बोर्डसँगको समन्वयमा मकवानपुरका वैदेशिक रोजगारको क्रममा रहेका र सम्झौताअनुसार तलब तथा काम नपाएको २६ जनाको उद्दार गरेको छ ।

यस्तै, विदेशमा जेलमा परेका जिल्लाका ६ जना र अलपत्र परेका १९ जनालाई उद्दार गरिएको जनाएको छ । वैदेशिक रोजगारको क्रममा बिरामी परेर फर्काइएका १७ जनाले २३ लाख ९३ हजार रुपैयाँ जिल्ला प्रशासन कार्यालयमार्फत् राहत पाएका छन् भने सम्पर्कबिहीन भएका कामदार ४ जनामध्ये २ जना सम्पर्कमा आएको केन्द्रकी सूचना तथा परामर्शकर्ता बिकले जानकारी दिनुभयो । वैदेशिक रोजगारसहित विभिन्न प्रयोजनले विदेश जानका लागि गत आर्थिक वर्ष २०८१/०८२ मा मकवानपुरबाट १५ हजार ४ सय ४७ जनाले राहदानी बनाउन सिफारिस लिएका छन् ।

Exit mobile version