हेटौँडा : मोटरसाइकलको ठक्करबाट मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ की ९२ वर्षीया नन्दकुमारी न्यौपानेको मृत्यु भएको छ । बुधबार बिहान ९ बजेको समयमा मकवानपुरगढी–३, मक्राञ्चुलीबाट हेटौँडातर्फ आउँदै गरेको ना ४३ प २०४० नम्बरको मोटरसाइकलले पैदलयात्री न्यौपानेलाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट न्यौपानेको शरीरको विभिन्न भागमा भित्री चोट लागेको थियो । घाइते न्यौपानेलाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज लगिएको थियो । पुरानो मेडिकल कलेजले उपचार सम्भव नभएको भनी फिर्ता पठाएपछि न्यौपानेलाई हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा राखिएको थियो । न्यौपानेको बुधबार साँझ ७ बजेर ५० मिनेटको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रहरीले मोटरसाइकल चालक मकवानपुरगढी–३, मक्रान्चुलीका २४ वर्षीय सन्तोष थापा मगरलाई नियन्त्रणमा लिएको जनाएको छ ।
