Home मुख्य समाचार चट्याङ लागेर मत्यु भएका ब्लोनको परिवारलाई बागमती सरकारले एक लाख रुपैयाँ दिने

चट्याङ लागेर मत्यु भएका ब्लोनको परिवारलाई बागमती सरकारले एक लाख रुपैयाँ दिने

हेटौँडामा परेको चट्याङ । तस्वीर : राजन कटुवाल/फाइल तस्वीर ।

हेटौँडा : मंगलबार मकवानपुरको मनहरीमा चट्याङ लागेर मृत्यु भएका व्यक्तिको परिवारलाई बागमती प्रदेश सरकारले एक लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार चट्याङ लागेर मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिनुभयो ।

मुख्यमन्त्री बानियाँका अनुसार मंगलबार चट्याङ लागेर मृत्यु भएका मनहरी गाउँपालिका–६, दैलीडाँडाका विशाल ब्लोनको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने गरिएको हो । प्रदेश विपद् कोषबाट उक्त रकम उपलब्ध गराउने गरी निर्णय प्रक्रिया अघि बढाउन मुख्यमन्त्री बानियाँले आवश्यक निर्देशन दिनुभएको छ ।

सहायता रकम उपलब्ध गराउन प्रदेशका प्रमुख सचिव भुपाल बराललाई मुख्यमन्त्री बानियाँले निर्देशन दिनुभएको छ । मुख्यमन्त्री बानियाँले सो घटनामा घाइते भएकाहरुको सहज उपचारको लागि स्थानीय तहको समन्वय गरेर आवश्यक व्यवस्था मिलाउन पनि निर्देशन दिनुभएको छ । ‘विपद्बाट आहत भएका नागरिकको साथमा प्रदेश सरकार सदैव रहन्छ । सोही अनुसार मंगलबार चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई एक लाख रुपैयाँ उपलब्ध गराउन निर्देशन दिइएको हो’, मुख्यमन्त्री बानियाँले भन्नुभयो, ‘सो घटनामा घाइते भएकाहरुको उपचार भइरहेको छ । गाउँपालिकाले निःशुल्क उपचारको प्रवन्ध गरेको छ । यदि गाउँपालिकालाई खर्च व्यहोर्न समस्या देखियो भने प्रदेश सरकारले व्यवस्थापनको काम गर्ने गरी प्रक्रिया मिलाउन निर्देशन दिएको छु ।’

मुख्यमन्त्री बानियाँको निर्देशन अनुसार प्रमुख सचिव बरालले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् महाशाखा प्रमुख सुरेश खनाललाई आवश्यक कानुनी व्यवस्था अनुसार प्रक्रिया पूरा गर्न र विपद् व्यवस्थापन परिषद् तथा विपद् व्यवस्थापन कार्यकारी परिषद्को बैठक आह्वान गर्ने एजेण्डा तयार गर्न निर्देशन दिनुभएको छ ।

मंगलबार दिउँसो ४ बजेर २० मिनेटको समयमा चट्याङ लागेर मनहरी–६, दैलीडाँडाका ४२ वर्षीय विशाल ब्लोनको घटनास्थमै मृत्यु भएको थियो । सो घटनामा अन्य ७ जना घाइते भएका थिए । घाइते हुनेमा १२ वर्षीया वर्षा घलान, १२ वर्षीय सुजन घलान, १६ वर्षीय सन्तोष घलान, ३८ वर्षीया शान्ति तितुङ, ३४ वर्षीय प्रेम बहादुर घलान, ३७ वर्षीय राजकुमार घलान, ४७ वर्षीय पान बहादुर मोक्तान रहेका छन् । उनीहरुको उपचार कार्य जारी रहेको छ ।

Exit mobile version