हेटौँडा : सिस्नुपानी नेपाल मकवानपुरको आयोजनामा आज गाइजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम हुँदैछ । सिस्नुपानी नेपाल मकवानपुरले गाइजात्रा विशेष कार्यक्रम गर्दै आएको छ ।
सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष संप्रस पौडेलले समाजमा रहेका बेथिति र विसङ्गतिविरूद्ध साहित्य सिर्जनाकैरुपमा १ दर्जन बढी कलाकारहरूमार्फत् विविध हास्यव्यङ्ग्यात्मक प्रस्तुतीहरू रहने बताउनुभयो । हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको प्रवर्धनमा हुने कार्यक्रम ओम्याक्स सिनेमा हलमा हुनेछ । कार्यक्रममा प्यारोडी गायन, व्यङ्ग्य प्रहसन, नाचलगायत विविध हास्यव्यङ्ग्य प्रस्तुतिहरू रहने संस्थाका सचिव सुमार्गी हुमागाईँले बताउनुभयो ।
यस्तै प्रवर्धक वडाका वडा अध्यक्ष नवीन सिग्देलले हास्यव्यङ्ग्य सिर्जनाले कमजोरीहरूलाई सुधार्नका लागि प्रेरणा मिल्ने र जनताको आवाजलाई व्यङ्ग्यका साथसाथै रमाइलो अनि ठट्यौली शैलीमा मुखरित गर्ने हुँदा अघिल्ला वर्षमा खचाखच दर्शकहरूबिच भव्य कार्यक्रम भएकोले यस कार्यक्रममा समेत अझ बढी चर्चा पाउने अपेक्षा रहेको बताउनुभयो ।
विगतदेखि नै सिस्नुपानीलगायतका अन्य संस्थाहरूमार्फत् साहित्य लेखन कार्यशाला, रचना वाचन, प्रतियोगिता, साहित्यकार तथा कलाकार सम्मान गरिरहेको ४ नम्बर वडा हेटौँडाले शिक्षामा समेत यथेष्ट कदम चालिरहेकोले सर्वाधिक शिक्षित जनसङ्ख्या रहेको वडाका रूपमा परिचित रहेको वडाध्यक्ष नवीन सिग्देलले जानकारी दिनुभयो । साहित्य सिर्जना जोसुकैले गर्न नसक्ने र सिर्जना गर्नेहरूलाई हौसला दिनुपर्ने भन्दै यस्ता काममा अन्य वडाहरूलाई समेत हातेमालो गर्न आव्हान गर्नुभयो ।
यसअघि राष्ट्रव्यापि कविता प्रतियोगिता, हास्यव्यङ्ग्यात्मक गाईजात्रा, देउसीभैलो, कार्टुन प्रदर्शनी, हास्यव्यङ्ग्यकार सम्मान तथा रचना वाचनलगायतका विविध कार्यक्रमहरू गर्दै आइरहेको यस संस्था सिस्नुपानी नेपालको पहिलो जिल्ला शाखा हो ।











