हेटौँडा : हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टमा बास्केटबल प्रतियोगिता सुरु भएको छ । म्यानेजमेन्टमा कक्षागत तथा तहगत टिमको सहभागिता रहनेछ । म्यानेजमेन्टकै बासकेटबल कोर्टमा मंगलबार दिउँसो प्रिन्सीपल पुरनबहादुर जोशीको अध्यक्षता तथा व्यवस्थापन समितिका अध्यक्ष देवप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन कार्यक्रम भएको हो ।
यसैबीच उद्घाटन खेलमा व्यवस्थापन संकाय कक्षा–१२ होटल म्यानेजमेन्टको टिमले बीआइएमको टिमलाई ४९–३८ अंकले पराजित गरेको छ । मंगलबारको दोस्रो खेल भने वर्षाका कारण स्थगित भएको छ । स्थगित भएको खेल आज बुधबार बिहान खेलाइने आयोजकले जनाएको छ । शुक्रबारसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुष र महिला दुबै टिमको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताले ७ हजार रुपैयाँ नगदसहित शिल्ड प्राप्त गर्नेछ । यस्तै द्वितीय हुने टिमले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताले विद्यार्थीहरूमा खेलभावना, अनुशासन, नेतृत्व र समूह भावना विकास गर्ने उद्देश्य राखेको छ । हेटौंडा स्कूल अफ म्यानेजमेन्टले शैक्षिक उत्कृष्टतासँगै अतिरिक्त क्रियाकलाप र खेलकुदलाई निरन्तर प्रोत्साहन गर्दै विद्यार्थीहरूको समग्र विकासमा आफ्नो प्रतिबद्धता दोहोर्याएको छ ।
















