हेटौंडा : आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन भएको छ । सोमबार प्रतिनिधिसभा सदस्य तथा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले भवन उद्घाट गर्नुभएको हो ।
गरिबका छोराछोरी पढ्ने भएकाले सामुदायिक विद्यालयको विकासमा आफूहरुले विशेष ध्यान दिने गरेको सिंहले बताउनुभयो । चालु आर्थिक वर्ष २०८२/०८३ मा हेटौडा १६ को जनप्रिय माध्यमिक विद्यालय तथा वडा नंं.१३ पदमपोखरीमा रहेको कालिका आधारभूत विद्यालयका लागि ३/३ करोड रुपैयाँ बराबरको बजेट विनियोजन भएको उहाँले जानकारी दिनुभयो । यस्तै, मकवानपुर बहुमुखी क्याम्पसमा भवन निर्माण तथा भुटनदेवी माविमा छात्रावास निर्माणका लागि पनि ३/३ करोड बजेट विनियोजन भएको सिंहले बताउनु भयो ।
संघीय सरकारबाट प्राप्त एक करोड रुपैयाँ लागतमा बनेको विद्यालयको नयाँ भवन ५ कोठाको छ । विद्यालयमा २७ जिल्लाका करिब ३ हजार विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक रामसागर गुरागाईंले बताउनुभयो । विद्यालयमा तिव्ररुपमा विद्यार्थी संख्या बढिरहेका कारण शौचालय प्रयोगमा विद्यार्थीहरुले समस्या भोग्नु परिरहेकोप्रति गुरागाईंले ध्यानाकर्षण गराउनुभयो । विद्यालयमा रहेको शौचालय समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिनिधिसभा सदस्य सिंहले आश्वासन दिनुभएको छ ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नं. वडा अध्यक्ष नवीन सिग्देलसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद समिम, समितिका सदस्यहरु तथा शिक्षकहरुको सहभागिता रहेको थियो । विद्यालयका प्रधानाध्यापक गुरागार्इंले प्रमुख अतिथि सिंहलाई धन्यवाद सहित मायाको चिनो प्रदान गर्नुभएको थियो ।
