चाँदीलालको साथबाट बरामद भएको चाँदी ।

हेटौँडा : भन्सार छलेर ल्याइएको चाँदीका गहनासहित मकवानपुर प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । आइतबार राती साढे ९ बजेको समयमा विशेष सूचनाको आधारमा हेटौँडा–१०, बसपार्कबाट भारतको बिहार राज्यअन्तर्गत मोतिहारी जिल्लाका ५२ वर्षीय चाँदीलाल साहलाई प्रहरीले पक्राउ गरेको हो ।

चाँदीलालको साथबाट बरामद भएको चाँदी सोमबारको बजारमूल्य अनुसार १ लाख ५८ हजार ३३२ रुपैयाँ बाराबरको भएको प्रहरीले जनाएको छ । चाँदीको गहनासहित चाँदीलाललाई नियन्त्रणमा लिई आवश्यक कारवाही तथा अनुसन्धानका लागि बारा जिल्लाको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।