गीत प्रतियोगिताबारे जानकारी गराउन तथा सहभागी हुन पालिकाले जारी गरेको सूचना ।

हेटौँडा : बकैया गाउँपालिकाले वार्षिक कार्यक्रम अन्तर्गत गाउँस्तरमा वार्षिक गीत प्रतियोगिता गर्ने भएको छ । गाउँपालिकाले सूचनामार्फत जानकारी दिँदै प्रतियोगिता भदौ ५ गते शुक्रबार लिगलिगे आधारभूत स्वास्थ्य चौकीमा हुनेछ ।

प्रतियोगितामा गाउँपालिकाभित्रका संघ–संस्था, महिला समूह, आमा समूह, सहकारी संस्था, टोल विकास संस्था लगायतका इच्छुक महिला सदस्य समूहलाई सहभागी हुन पालिकाले आव्हान गरेको छ । नियमअनुसार सहभागीले बकैया गाउँपालिकाको स्तुतिगान हुने मौलिक र विषयवस्तुगत गीत प्रस्तुत गर्नुपर्ने सूचनामा उल्लेख छ । प्रत्येक समूहमा कम्तीमा ३ जना र बढीमा ५ जना सदस्य रहन पाइने पालिकाले जनाएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेलका अनुसार प्रतियोगितामा पहिलो हुने समूहलाई नगद १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । गाउँपालिकाले स्थानीय प्रतिभाहरुलाई बाहिर ल्याउनुका साथै मौलिक संस्कृति संरक्षण र सामुदायिक एकता प्रवद्र्धन गर्ने उद्देश्य रहेको जनाएको छ । इच्छुक समूहले सम्बन्धित वडा कार्यालयमा आफ्नो नाम दर्ता गराउन पनि पालिकाले आग्रह गरेको छ ।