Home मुख्य समाचार सिस्नेरीमा पहिरो पन्छाउने काम जारी

सिस्नेरीमा पहिरो पन्छाउने काम जारी

पहिरो पन्छाउने कार्य गरिँदै ।

हेटौँडा : हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको सडकअन्तर्गत कुलेखानी–सिस्नेरी–दक्षिणकाली खण्डमा शनिबार पहिरो गएपछि डाभर्सन बनाएर सवारीसाधन आवतजावतको व्यवस्था गरे पनि पहिरो पन्छाउने कार्य भने सकिएको छैन । पहिरो खसेको ४८ घण्टा बित्दा पनि बाटो खुलाउन सकिएको छैन ।

शनिबार बिहान साढे ९ बजे मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेमा सुख्खा पहिरो खसेको हो । सुक्खा पहिरो खसेको २४ घण्टापछि डाभर्सन बनाएर सवारी आवतजावतलाई नियमित गरिएको थियो । तर आइतबार दिनभर ३ वटा मेशिन प्रयोग गरेर मुख्य सडक सञ्चालनमा ल्याउन कोशिस गरिए पनि आइतबार साँझ परेको पानीका कारण पुनः खसेको पहिरोले सडक सञ्चालनमा कठिनाई भएको छ ।

पहिरो खसेर सडक अवरुद्ध भएको केही समयमा नै प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जेसिबी, एक्सभेटर र लोडर प्रयोग गरेर सडक खुलाउन प्रयास भए पनि निरन्तर रूपमा पहिरो खसेकाले समस्या भएको हो । मन्त्रालयअन्तर्गतको प्रदेश राजधानी पूर्वाधार विशेष आयोजना हेटौँडामार्फत सडक खुलाउन मेसिनहरू प्रयोग गरिएको छ । आयोजनाले सोमबार साँझसम्म सडक सञ्चालनमा ल्याउने गरी पहिरो हटाउने काम गरिरहेको जनाइएको छ ।

आयोजनाका प्रमुख देवनारायण यादवका अनुसार आइतबार दिनभर बाटो खुलाउने प्रयास गरिए पनि साँझ परेको पानीका कारण पहिरो खस्न थालेपछि साँझ ६ बजेपछि काम रोकिएको थियो । सोमबार साँझसम्म सडक खुलाउने गरी मन्त्रालयसँगको समन्वयमा पहिरो हटाउने काम पुनः थालिएको उहाँले बताउनुभयो । पहिरो हटाउन हाल तीनवटा मेसिन प्रयोग भइरहेको उहाँले जानकारी दिनुभयो ।

पहिरो पन्छाउने काममा एक्स्काभेटर, जेसिबी र लोडर एक–एक वटा प्रयोग गरिएको उहाँको भनाइ छ । बिहानैबाट पहिरो हटाउने काम थाले पनि पहिरो ठुलो र सडकको माथिबाट ढुंगा–माटो खस्ने क्रम जारी रहेकाले कठिनाई भइरहेको छ । एक्स्काभेटर र जेसिबीले दुईतर्फबाट बाटो खुलाउन पहिरो हटाउने काम भइरहेको र दिनभरमा सक्ने लक्ष्यका साथ अघि बढेको उहाँले बताउनुभयो । उक्त स्थान साँघुरो र जोखिमयुक्त रहेकाले मेसिनहरू थप गर्ने अवस्था नरहेको पनि उहाँको भनाई छ ।

सो सडक प्रदेश सरकारले प्रादेशिक सडक गुरुयोजनाअन्तर्गत राखेर राजधानी मार्ग नामकरण गरी निर्माण गरिएको छ । सो सडकको काठमाडौंतर्फको केही भाग कालोपत्रे गर्न बाँकी रहेको छ ।

Exit mobile version