हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले धर्म, भाषा र संस्कृतिको नाममा राजनीति गर्न नहुने बताउनुभएको छ । उहाँले यस्ता संवेदनशील विषयलाई राजनीतिक लाभ–हानीको माध्यम बनाउँदा समाजमा विभाजनको खतरा रहने औँल्याउनुभयो ।
तामाङ पत्रकार संघले आइतबार हेटौँडामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सरकार भाषा संरक्षणमा प्रतिबद्ध रहेको बताउनुभयो । प्रदेश सरकारले तामाङ र नेवार भाषालाई प्राथमिकतामा राखेर अग्राधिकार दिएको पनि मुख्यमन्त्री बानियाँले बताउनुभयो । ‘धर्मको नाममा, जातको नाममा वा भाषाको कुरा गरेर राजनीति गर्नु हुँदैन । विगतमा कसैले धर्म त कसैले जातको नाममा भ्रम सिर्जना गरे । तर अब त्यसो गर्नु उपयुक्त हुँदैन’, मुख्यमन्त्री बानियाँले भन्नुभयो, ‘भाषा कुनै एक जातिको मात्र नभएर सबैका लागि ज्ञानको स्रोत हो । तामाङ भाषाको ज्ञान क्षेत्री, बाहुन, दलित सबैले लिन सक्छन् । यो ज्ञान हो, यसले सबैलाई जोड्छ । भाषा ऐन कार्यान्वयनको निर्णय कुनै जातले गरेको होइन । यो राजनीतिक रूपमा सरकारले गरेको हो ।’
उहाँले धर्मको वास्तविक अर्थ मानवताको सेवा भएको बताउनुभयो । धर्म भनेको मानवता र न्यायको पक्षमा उभिनु रहेको उहाँको भनाइ थियो । भाषा, संस्कृति र परम्पराको संरक्षण, जगेर्ना र प्रवद्र्धन गर्नु सरकारको दायित्व भएको र बागमती सरकारले त्यसका लागि आवश्यक कदम चालिरहेको उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा पत्रकार अर्जुन बहादुर तामाङ र भुवन घलानलाई पुरस्कृत गरिएको थियो ।
