हेटौंडा : मकवानपुरको बागमती गाउँपालिकास्थित बेतिनी स्वास्थ्य चौकीमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । बागमती गाउँपालिकाकै झुरझुरेस्थित सामुदायिक आँखा केन्द्र र हेटौंडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा निशूल्क आँखा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा १ सय २० जनाको आँखा परीक्षण गर्दा ११ जना मोतिविन्दुका विरामी फेला परेको बेतिनी स्वास्थ्य चौकीका अनमी राकेश कुमार कुशवाहाले जनकारी दिनुभयो । आँखा शिविरमा आँखा जचाउन आएका ८० जनालाई सामान्य औषधि वितरण गरिएको छ भने बाँकीको आँखाको अवस्था सामान्य रहेको कुशवाहाले जानकारी दिनु भयो । निशूल्क आँखा शिविरबाट बागमती गाउँपालिकाको वडा नम्बर ४, ६, ७, ८ र ९ का बासिन्दाले सेवा पाएको उहाँको भनाइ छ ।
मोतिविन्दुका बिरामीलाई हेटौँडा सामुदायिक आँखा अस्पतालमा ल्याएर निःशुल्क शल्यक्रिया गरिनेछ । शल्यक्रियाका लागि हेटौँडा आउन र घर फर्कन लगायत सम्पूर्ण उपचार खर्च पालिकाले व्यहोर्ने गाउँपालिका जनस्वास्थ्य निरीक्षक दिनेश कुमार गुप्ताले बताउनु भयो । चालु आर्थिक वर्ष २०८२/०८३ मा बागमती गाउँपालिकाको सञ्चालित पहिलो शिविर हो ।
