सपथग्रण गर्दै नवनियुक्त मन्त्रीहरु ।

हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारलाई पूर्णता दिँदै काँग्रेसका ५ मन्त्रीलाई नियुक्त गर्नुभएको छ । प्रदेशका १४ मन्त्रालयमा एमालेका ६ र कांग्रेसका ८ मन्त्री नियुक्त गर्नुहुँदै सरकारलाई पूर्णता दिनुभएका मुख्यमन्त्री बानियाँले शुक्रबार नियुक्त गरेका ५ मन्त्री शहिद परिवारदेखि २०४२ को सत्याग्रहका साझेदार रहेका छन् ।

नवनियुक्त ५ मन्त्रीलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शुक्रबार पद तथा गोपनीयताको सपथ गराउनुभएको हो । मुख्यमन्त्री बानियाँको सिफारिसमा युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल, सामाजिक विकास मन्त्री कन्चनचन्द्र वादे, संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी र आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको हो । मुख्यमन्त्री बानियाँले बिना विभागीय मन्त्री शिवराज अधिकारीको समेत जिम्मेवारी तोक्नुभएको छ । अधिकरीले अन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । मुख्यमन्त्री बानियाँले यसअघि आफूसहित ९ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो । त्यतिबेला आफूसहित कांग्रेसबाट ३ र सत्ता साझेदार दल नेकपा एमालेबाट ६ मन्त्री नियुक्त गरिएको थियो ।

संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ ।

सुरेश श्रेष्ठ
भक्तपुर क्षेत्र नम्बर १ चाँगु प्रदेश समिति (क) बाट निर्वाचित हुनुभएका सुरेश श्रेष्ठ चाँगुनारायण नगरपालिका वडा नम्बर–१ दुवाकोट बेसका स्थानीय हुनुहुन्छ । उहाँ बागमती प्रदेशको संकृति तथा पर्यटन मन्त्री नियुक्त हुनुभएको हो । उहाँको पिता पनि नेपाली कांग्रेसबाटै राजनीति गर्ने भएकाले पनि बाल्यकालदेखि विपीको विचारधाराबाट प्रभावित उहाँ विद्यालयमा अध्ययन गर्ने क्रममा नै नेविसंघमा आवद्ध हुनुभयो । उच्च शिक्षा हासिल गर्ने क्रममा सक्रिय रुपमा राजनीतिमा लाग्नुभएका श्रेष्ठ २०५७ सालमा भक्तपुर बहुमुखी क्याम्पसको स्ववियु सचिवमा विजयी हुनुभएको थियो । २०६१ सालमा नेविसंघको भक्तपुर जिल्ला अध्यक्ष हुनुभएका श्रेष्ठले २०६२/०६३ को जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । कांग्रेसको बाह्रौं महाधिवेशनमा जिल्ला सदस्य हुनुभएका, तेह्रौं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि हुनुभएका श्रेष्ठ चौधौं महाधिवेशनमा महासमिति सदस्यमा निर्वाचित हनुभयो ।

सामाजिक विकास मन्त्री कन्चनचन्द्र वाद ।

कन्चनचन्द्र बादे
प्रजातन्त्र सेनानी बाबु गोपालदास बादे र आमा चिनिमाया बादेको छोरा कञ्चनचन्द्र बादे २०३६ को जनतसंग्रहकै ताका राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । उहाँ १५ वर्षको उमेरमा नेपाल विद्यार्थी संघको जिल्ला सदस्य भइसक्नुभएको थियो । २०४४ सालमा नेपाल विद्यार्थी संघ काभ्रेको कोषाध्यक्ष बन्नुभएका बादेले २०४७ सालमा नेविसंघको जिल्ला सभापति बनेर नेविसंघ काभ्रेलाई नेतृत्व प्रदान गर्नुभयो । नेविसंघसँगै बनेपाको राजनीतिमा होम्मिनु भएका उहाँ २०५१ र २०५८ मा गरी २ पटक नेपाली कांग्रेस बनेपाको नगर सभापति हुनुभयो । २०५८ मा नेपाल तरुण दलको जिल्ला अध्यक्ष बन्नुभएका बादे २०६० सालमा तरुण दलको केन्द्रीय सदस्य हुनुभयो ।

नेपाल ट्रेड युनियन कांग्रेस काभ्रेका संस्थापक अध्यक्ष रहनुभएका बादे २०६४ मा नेपाली कांग्रेस काभ्रेको कोषाध्यक्ष हुनुभयो । २०५७ मा भएको पार्टीको १० औँ र २०६१ मा भएको ११ औँ महाधिवेशनमा उहाँ महासमिति सदस्य समेत हुनुभयो । पार्टीको १२ औँ र १३ औँ महाधिवेशनमा काभ्रे क्षेत्र नं ३ को सभापति हुनुभएका बादे १४ औँ महाधिवेनशनबाट बागमती प्रदेश महामन्त्रीमा निर्वाचित हुनुभयो ।

२०३६ सालपछिका सबै जनआन्दोलनमा सहभागी हुनुभएका उहाँले २०६२/०६३ सालको जनआन्दोलन घाइते उपचार कोषको संयोजक भएर पनि काम गर्नुभयो । २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा कांग्रेसको तर्फबाट बनेपा नगरपालिकाको उपमेयर निर्वाचित उहाँ २०७० मा संविधानसभा सदस्य निर्वाचित हुनुभएको थियो । उहाँ उद्योग राज्यमन्त्री पनि बन्नुभयो । उहाँ २०७९ मा कांग्रेसबाट प्रतिनिधी सभा २ अन्तर्गतको प्रदेश सभा ख मा प्रत्यक्षतर्फ निर्वाचित हुनुभयो । नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक रहनुभएका उहाँ शुक्रबार सामाजिक विकास मन्त्री नियुक्त हुनुभएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ ।

प्रभात तामाङ
रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ का प्रभात तामाङ संघीयता कार्यान्वयनपछि निरन्तर प्रदेशसभा सदस्य हुनुहुन्छ । अर्थतन्त्र र वित्त क्षेत्रमा रुचि राख्ने उहाँ २०७४ र २०७९ मा सम्पन्न निर्वाचनमा रसुवा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित हुनुभएको थियो । २०४८ मा नेपाली कांग्रेसको साधारण सदस्य बन्नुभएका तामाङ २०६४ सालमा क्रियाशील सदस्य रहनुभयो । २०६८ मा रसुवा कांग्रेसको जिल्ला सदस्य हुनुभएका उहाँ २०७२ महा समिति सदस्य निर्वाचित हुनुभयो । २०७८ सालमा महासमिति सदस्य र प्रदेश कार्यसमिति सदस्यको जिम्मेवारीमा रहनुभएका उहाँ प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त हुनुभएको छ ।

युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल ।

उर्मिला नेपाल
नेविसंघबाट राजनीति सुरु गर्नुभएकी उर्मिला नेपाल प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त हुनुभएको छ । उहाँले २०४२ को सत्याग्रहदेखि नै सक्रिय राजनीतिमा अघि बढ्नु भएकी उहाँ २०४६ सालको आन्दोलनमा सक्रिय सहभागी हुनुभएको थियो । तत्कालिन समयमा उहाँको राजनीतिक कर्मथलो तेह्रथुम जिल्ला रहेको थियो । तेह्रथुमको म्याङलुङ क्याम्पसको नेविसंघ सदस्य बन्नुभएकी उर्मिला सोही समयमा सत्याग्रहमा सहभागी हुनुभयो ।

२०४४ मा नेपाली कांग्रेसको तेह्रथुम जिल्ला कार्यसमितिको कोषाध्यक्ष र महिला संघको सभापति पदमा रहेर काम गर्नुभएकाी उर्मिलाले तेह्रथुममा रहँदा महिला संघको सभापतिको रुपमा लगभग १६ वर्ष (तीन कार्यकाल) जिम्मेवारी सम्हाल्नुभयो । उहाँ पटक–पटक प्रहरी गिरफ्तारीमा पनि पर्नुभयो । विशेषगरी २०६२/६३ को जनआन्दोलनको क्रममा थापाथलीमा भएको प्रदर्शनमा उहाँहरुको समुहमाथि गोली समेत चलाइको थियो । तर, उक्त गोली केही पर खस्दा उहाँको ज्यान जोगिएको उहाँ सुनाउँछिन् । २०७० को संविधानसभा सदस्य निर्वाचनमा धादिङ क्षेत्र नम्बर ३ बाट टिकट पाउनुभएकी उहाँले चुनाव लड्ने अवसर पाउनुभएन । धादिङबाट टिकट पाए पनि त्यहाँको परिस्थिति अनुकूल नभएपछि उहाँले निर्वाचनको टिकट फिर्ता गर्नु परेको थियो । सो पश्चात उहाँको नाम समानुपातिक सूचीमा समावेश गरिएको थियो । २०७४ मा पनि उहाँको नाम संघको समानुपातिक सूचीमा प¥यो । तर, सांसद बन्ने अवसर पाउनुभएन ।

श्रीमानको जागिरको सिलसिलामा तेह्रथुमबाट ललितपुरको बसाइँ सर्नुभएकी उर्मिला करिब ३० वर्षदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । हाल ललितपुर क्षेत्र नम्बर २ अन्तर्गत महालक्ष्मी नगरपालिका–९ मा बस्दै आउनुभएको छ । उहाँ २०७९ को निर्वाचनमा कांग्रेसको समानुपातिक कोटामा सांसद बन्नुभएको थियो ।

सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी ।

विनु रायमाझी
स्कुले जीवनमा राजनीतिमा खासै चासो नराख्ने विनु रायमाझी २०६० मा विवाह पश्चात भने राजनीतिको मुलधारमा उदाउनुभयो । चितवन जिल्लाको रत्ननगर नगरपालिका–१० की विनु स्कुलमा रहँदा राजनीति बारे त्यति धेरै सोच नै थिएन । उहाँ विवाहपछि भने कांग्रेस चितवनको पुवा पुस्ताको नेताको ब्याकबोन नै बन्नुभयो ।

सक्रिय राजनीतिबाट टाढा रहनुभएकी उहाँको विवाह तरुण दलका नेता शिव पौडेलसँग २०६० मा भएको थियो । श्रीमानको प्रेरणाबाट उहाँ कांग्रेसको क्रियाशील सदस्य बन्नुभयो । २०६८ सालको घटनापछि भने उहाँ राजनीतिको मैदानमा आउनुभयो । २०६८ को पुस २ गते भरतपुर कारागारको घटनामा उनका श्रीमान् शिव पौडेलको हत्या भयो । कारागार भित्रै सांघातिक आक्रमणबाट शिव पौडेलको हत्या भयो । त्यति बेला शिव पौडेल तरुण दल चितवनको अध्यक्ष रहनुभएको थियो । उहाँ २०६९ मा पहिलो पटक कांग्रेस भातृ संगठन तरुण दलको कोषाध्यक्ष बन्नुभयो । राजनाीतिमा उहाँको यो नै पहिलो औपचारिक जिम्मेवारी हो । राज्यले उहाँका श्रीमान शिव पौडेललाई शहिद घोषणा गरेको छ । उहाँ पार्टीको १३ औं महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि बन्नुभयो । २०७९ को निर्वाचनमा उहाँलाई कांग्रेसले समानुपातिक कोटामा बागमती प्रदेशसभा सदस्य बनाएको हो । उहाँ हाल बागमती प्रदेशको सहकारी तथा गरिवी निवारण मन्त्री नियुक्त हुनुभएको छ ।