पत्रकार सम्मेलनको क्रममा खिचिएको तस्वीर ।

हेटौंडा : बागमती प्रदेश सरकारले लम्पीस्किन प्रकोपविरुद्ध सप्ताहव्यापी खोप अभियान भदौ १ गतेदेखि सुरु गर्ने भएको छ । प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै वागमती प्रदेशका १३ वटै जिल्लामा १ गतेदेखि ७ गतेसम्म खोप अभियान सञ्चालन हुने जानकारी दिएको हो ।

कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुधन पौडेलका अनुसार भदौ १ गते ललितपुरको कोन्ज्योसोम गाँउपालिका–१ बाट खोप कार्यक्रमको सुरुवात गरिने र एकैसाथै सबै जिल्लामा सञ्चालन गरिने बताउनुभयो । उहाँले नयाँ जन्मेका बाछाबाछीमा तीन महिनासम्म लम्पीस्किन विरुद्ध खोप लगाउन नमिल्ने भएकाले यो रोग निर्मूल गराउन मन्त्रालयलाई अप्ठेरो भइरहेको बताउनुभयो ।

मन्त्रालयका सचिव बैकुण्ठ अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ पशु विकास अधिकृत रामप्रकाश प्रधानले यस रोग हाल बागमती प्रदेशका सबै जिल्लामा फैलिएको भए पनि मकवानपुर, सिन्धुली, काभ्रेपलाञ्चोक र चितवन बढी प्रभावित रहेको जानकारी दिनुभयो । प्रदेशभित्र गएको असार र साउनमा १ हजार ६ सय ३३ गाई भैंसीमा लम्पीस्किनबाट संक्रमित भएको र हालसम्म ७४ वटा गाईवस्तु मरेका प्रधानले जानकारी दिनुभयो ।

सचिव प्रधानले हालसम्म प्रदेशभित्र यस रोगविरुद्ध ९४ हजार ८ सय ७७ वटा पशुलाई खोप लगाइसकिएको जानकारी दिनुभयो । यस वर्ष बागमती प्रदेशका लागि १ लाख २० हजार खोप छुट्याइएको जानकारी दिँदै लम्पीस्किनलगायत अन्य पशुसम्बन्धी रोग नियन्त्रणका लागि बागमती प्रदेश सरकारले यस बर्ष करिब ८ करोड रुपैयाँ विनियोजन गरेको पनि मन्त्रालयले जनाएको छ ।

पहिलो पटक २०७७ सालमा देखिएको यो रोग हालसम्म ७७ वटै जिल्लामा फैलिसकेको सरकारी तथ्याङ्क छ । लम्पीस्किन सामान्यतया लामखुट्टे, झिंगा, किर्ना, भुसुना आदिको टोकाइबाट सर्ने गर्दछ । गाई, भैंसीको सिधै सम्पर्कमा आउने अर्को गाई, भैंसी तथा मानिसको माध्यमबाट पनि सर्ने गर्दछ । यस रोगबाट बच्न रोगबिरुद्ध खोप लगाउनुपर्छ भने संक्रमण भइसकेका गाइभैंसीलाई छुट्टै राखेर उपचार गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।