उपाधिसाथ हेटौँडा फुटबल एकेडेमी ।

सिक्किम ( मुनसोङ) : छिमेकी मुलुक भारतको सिक्किममा भएको ७९ औं इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगिताको उपाधिमाथि हेटौँडा फुटबल एकेडेमीले कब्जा गरेको छ । मुनसोङ सिनचोन युथ क्लबको आयोजनामा शुक्रबार सम्पन्न भएको फाइनल खेलमा आदर्श युथ क्लब सिङ्तामलाई ४–१ गोलले हराउँदै साविक विजेता हेटौंडा फुटबल एकेडेमीले छिरिङ लामाको कप्तानीमा दोस्रो पटक उपाधिमाथि आफ्नो कब्जा गरेको हो ।

गत वर्ष ७८ औं इन्डिपेन्डेन्सकोमा सम्पन्न भएको फाइनल खेलमा बरमेक क्लबलाई हराउँदै छिरिङ लामाकै कप्तानीमा उपाधि चुम्न सफल भएको थियो । उपाधि जितेसँगै हेटौंडा फुटबल एकेडेमीको टिमले एकलाख रुपैयाँसहित शिल्ड तथा ट्रफी प्राप्त गरेका छन् भने उपविजेता एवाइसी सिङ्तामको टिमले ६० हजार रुपैयाँसहित शिल्ड तथा ट्रफी प्राप्त गरेका छन् । हेटौंडा फुटबल एकेडेमीको तर्फबाट पहिलो हाफको सातौं मिनेटमा गोल गर्दै सुजन भोम्जनले सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफकै २८ मिनेटमा संजिव अर्यालले गोल गर्दै अग्रतालाई बढाएका थिए । एवाइसी सिङ्तामबाटले सान्त्वना गोल प्रहार गरेका थिए । त्यसपछि दोस्रो हाफको १० मिनेटमा गोल गर्दै अञ्जन चौधरीले खेललाई ३–१ गोललो स्थितिमा पुर्‍याएका थिए । दोस्रो हाफकै २४ मिनेटमा मिलन स्याङ्तानले अन्तिम गोल गरेका थिए ।

म्यान अफ द म्याच घोषित हुँदै हेटौंडा फुटबल एकेडेमीका गोलरक्षक अस्मिर गोङ्बाले ६ हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक हेटौंडा फुटबल एकेडेमीकै गोलरक्षक अस्मिर गोङ्बा र सर्वाधिक गोलकर्ता घोषित हुँदै मिलन स्याङ्तानले ट्रफी प्राप्त गरेका छन् । हेटौंडाको तर्फबाट पहिलो गोल गरेका सुजनले १० हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरेका छन् ।