हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँलाई ज्ञापनपत्र बुझाउँदै प्याव्सनका पदाधिकारी ।

हेटौँडा : संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट हालै पारित भएको प्रस्तावित शिक्षा विधेयकमा केही विषयहरू निजी विद्यालयहरूलाई अमान्य रहेको भन्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) ले बिहीबार पालिका तहमा ज्ञापनपत्र बुझाएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालले बिहीबार देशव्यापीरुपमा प्याव्सन पालिकास्तरीय समितिले नगर तथा गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

निजी विद्यालयहरूलाई क्रमशः गैर नाफामूलक बनाउने, पूर्ण छात्रवृत्ति दिनुपर्ने विषय संशोधन गर्न तथा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिइनु पर्ने प्याव्सनको माग छ । बिहीबार प्याव्सन हेटौँडा उपमहानगर, थाहा नगर, मनहरी गाउँपालिका समितिले सम्बन्धित पालिकामा ज्ञापनपत्र बुझाएको हो । हेटौँडा उपमहानगरपालिकामा प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदी र प्याव्सन हेटौँडा उपमहानगर समितिका अध्यक्ष रामकुमार श्रेष्ठको संयुक्त हस्ताक्षरमा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँलाई ज्ञापनपत्र बुझाइएको हो ।

शुक्रबार पनि प्याव्सन मकवानपुरले जिल्ला प्रशासन कार्यालय मकवानपुर, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुर र जिल्ला समन्वय समिति मकवानपुरमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ । यस्तै आइतबार प्याव्सनले प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।

प्याव्सनले भदौ ३ गते पालिकास्तरीय समितिको आन्दोलन तयारी बैठक बस्ने, भदौ ४ गते जिल्लास्तरीय समितिको आन्दोलन तयारी बैठक बस्ने, भदौ ५ गते प्रदेशस्तरीय समितिको आन्दोलन तयारी बैठक बस्ने र भदौ ६ र ७ गते केन्द्र/प्रदेशस्तरमा सरोकारवालाहरूसँग अन्तरक्रिया गर्ने योजना रहेको छ । उक्त समय सीमाभित्र गरिएको आन्दोलन, सचेतना, ज्ञापनपत्र बुझाउने, अन्तरक्रिया र छलफलबाट निकास ननिस्किए विद्यालय बन्दसम्मको कार्यक्रम हुने प्याव्सन हेटौँडा उपमहानगर समितिका सचिव सुदीप राज गिरीले जानकारी दिनुभएको छ ।