हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री निवास र कार्यालयमा हुने सुविधा वापतको खर्च ५० प्रतिशतले कटौती गर्ने बताउनुभयो । उहाँले मुख्यमन्त्री निवास तथा कार्यालयमा हुने सुविधा तथा वन्दोवस्ती वापतको खर्च ५० प्रतिशत कटौती गर्ने बताउनुभयो ।
बुधबार बसेको प्रदेशसभाको विशेष समयपछि समय माग गरेर सम्बोधन गर्दै उहाँले विगतका मुख्यमन्त्रीहरूले गर्दै आएको खर्चलाई ५० प्रतिशत कटौती गर्ने बताउनुभयो । आफ्नो कार्यकालमा सुशासन र पारदर्शिता कायम गर्दै जवाफदेहितासहित काम गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।
उहाँका अनुसार आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकबाट सेवा सुविधा वापत प्राप्त हुने रकम निर्वाचन क्षेत्रमा गरिब विपन्नको घर बनाउन खर्च गर्ने घोषणालाई तत्काल कार्यान्वयनमा अघि बढाइनेछ । आगामी दशैँ अगाडिनै आफ्नो निर्वाचन क्षेत्र मकवानपुर क्षेत्र नम्बर २ ९ख० का विपन्न नागरिकको घर आवास निर्माण गर्ने घोषणा उहाँले गर्नुभयो ।
‘जनमुखी, सेवामुखी, न्यायमुखी, आयमुखी र विकासमुखी सरकारको तर्फ अगाडि बढ्ने मेरो यात्रा निरन्तर रहने छ । त्यसको प्रक्रिया हामीले पहिलो क्याबिनेटबाटै सुरु गरिसकेको छौँ,’ उहाँले भन्नुभयो, ‘मैले मुख्यमन्त्रीको हैसियतले पाउने मासिक सुविधाबाट मलाई निर्वाचन जिताउने निर्वाचित गर्ने प्रदेश क्षेत्रका ३० वटा वडामध्यको सबैभन्दा विपन्न गरिबको घर दशैँ अगावै बनाइसक्ने छु । गरिबमुखी काम दशैँ अगाडिनै घर हस्तान्तरण गरेर त्यहाँबाट सुरु गर्नेछु ।’
मुख्यमन्त्री बानियाँका अनुसार आफ्नो पहिलो क्याबिनेटले गरिब विपन्न वर्ग लक्षित छात्रवृत्ति वितरणको निर्णय गरेको छ । आर्थिक अवस्था कमजोर भएर पढ्न नपाएका सिमान्तकृत जातजाती—वनकरिया, थामी, चेपाङ, जिरेल, पहरीलगायतका प्रदेशभित्रका पछाडि परेका वर्गलाई सरकारले अध्ययन छात्रवृत्ति वितरण गर्ने बताउनुभयो ।
विगतमा भएका राम्रा कार्यहरूलाई सरकारले प्राथमिकतामा राखेर अघि बढाउने बताउनुभयो । सरकारले विपद् व्यवस्थापनलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । विपद् पुनर्निर्माणलाई कार्यतालिका बनाएर अघि बढाउने र जोखिम न्यूनिकरण तथा पूर्वतयारीमा सरकार प्रतिबद्ध भएर लाग्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । सरकार नागरिकप्रति उत्तरदायी, पारदर्शी र जवाफदेही भएर अघि बढ्ने दाबी उहाँले गर्नुभयो ।











