हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभामा विश्वासको मत लिने तयारी गर्नुभएको छ । पार्टी भित्र आन्तरिक किचलो उत्कर्षमा पुगेका बखत मुख्यमन्त्री बानियाँ प्रदेशसभामै विश्वासको मत लिएर अघि बढ्ने योजनामा हुनुहुन्छ ।
कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रवक्ता सुरजचन्द्र लामिछानेका अनुसार मुख्यमन्त्री बानियाँले प्रदेशसभाबाट विश्वासको मत सम्बन्धी प्रस्ताव फेस गरेर अघि बढ्न तयारी रहेको छ । पार्टीको निर्देशन पनि पहिलो विश्वासको मत लिएर बाँकी विषयमा सहकार्य गर्ने रहेकाले सोही अनुसार मुख्यमन्त्री बानियाँ अघि बढेको उहाँको भनाई छ ।
‘प्रदेशसभाको कार्यसूचि बनिसकेको छ । साझेदार दल पनि प्रक्रिया अघि बढाउन तयार रहेको छ । सभामुखसँग पनि सहकार्य भएर विश्वासको मत सम्बन्धी प्रस्ताव अघि बढाउन कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर प्रक्रिया थालिएको छ । त्यसैले अब पछि हट्ने वा सार्ने भन्ने अवस्था छैन’, उहाँले भन्नुभयो, ‘पार्टी सभापतिको निर्देशन पनि पहिले विश्वासको मत दिने र अन्य विषयमा छलफल गरेर मिलाउने भन्ने छ । सोही अनुसार अघि बढ्न निर्देशन आएकाले प्रक्रिया टुंग्याउने तर्फ मुख्यमन्त्री रहनुभएको छ ।’
पार्टीले माग सम्बोधन गर्ने सकारात्मक देखाउँदै गर्दा निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा समुह हठमा लागेर काठमाडौं बसिरहेको उहाँले बताउनुभयो । पार्टीले निर्देशन गरे अनुसार ह्वीप लगाएको अवस्थामा अनुशासन तोड्नु उचित नहुने उहाँको भनाई छ । विगतमा पार्टीको अवस्था, सन्तुलन नमिलाई आफू अनुकल मन्त्री नियुक्त गरेर हाल यसै हुनुपर्छ भन्नु उचित नरहेको उहाँले बताउनुभयो । पार्टी र संसदीय दलबाट माग सम्बोधन गर्ने विषयमा छलफलका लागि तयारी भइरहेका बखत तत्काल यसै हुनुपर्छ भन्नु अहमता भएको उहाँले बताउनुभयो ।
संसदीय दलका सचेतक कञ्चनचन्द्र बादेका अनुसार निर्धारित समयमा नै मुख्यमन्त्री बानियाँले विश्वासको मत लिएर अघि बढ्ने तयारी रहेको छ । सबै तयारी पूरा गरिसकेको र पार्टीले निर्देशन दिएर संसदीय दलले ह्वीप लगाएर प्रक्रिया अघि बढाएका बखत को आउने नआउनेले अर्थ नराख्ने उहाँको भनाई छ । पार्टी अनुशासनको पालना गर्नेहरु १ बजेको संसदीय दलको बैठकमा सहभागी हुने र आफ्ना विषय राखेर विश्वासको मत प्रदान गर्ने उहाँले बताउनुभयो ।











