बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजनीति व्यापार नभएको बताएका छन् । उनले राजनीति सेवा र धर्म हो, व्यापार होइन भनेका छन् । मुख्यमन्त्री भएलगत्तै नेपाली कांग्रेस बागमती प्रदेश समितिले आयोजना गरेको स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले उत्तरदायी, जिम्मेवार र पारदर्शी भई निष्पक्षताका साथ जनताको सेवा गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले व्यापारमा नाफा नोक्सान भएजस्तै राजनीतिमा न्याय हुने कुरामा जोड दिए । मुख्यमन्त्री बानियाँले आफूले पाउने पारिश्रमिकबाट आफ्नो निर्वाचन क्षेत्रका विपन्न र असहाय नागरिकका लागि घर बनाइदिने घोषणासमेत गरे । जनतालाई न्याय, शान्ति र विकास दिन राजनीति गरेको भन्दै उनले नागरिकप्रति उत्तरदायी, जिम्मेवार, पारदर्शी र जवाफदेही भएर निष्पक्ष काम गर्ने प्रतिवद्धता जनाए ।

मुख्यमन्त्री बानियाँले भनेजस्तै राजनीति व्यापार पक्कै होइन । राजनीति भनेको विशुद्ध नागरिकको सेवा हो । सैद्धान्तिक मान्यता र विश्वव्यापी प्रचलनलाई हेर्ने हो भने राजनीति जनताप्रति उत्तरदायी र जनताको सेवामा समर्पित हुन्छ । नेपालमा पनि पञ्चायती शासन कालसम्म राजनीति करिब यस्तै थियो । पञ्चायती व्यवस्थामा राजनीतिक दल प्रतिबन्धित थियो । खुलारुपमा राजनीति गर्न नपाइने त्यस समयका अधिकांश नेताहरु पूर्णकालीन राजनीतिमा थिए । उनीहरु आ–आफ्नो राजनीतिक दलको सिद्धान्त तथा नीतिको पूरा पालना गर्थे । भूमिगत भएर राजनीतिमा सक्रिय हुनुपर्ने त्यस समयमा नेताले राजनीतिमात्र गर्दथे । २०४६ सालमा भएको जनआन्दोलनपछि पञ्चायती व्यवस्था अन्त्य भई बहुदलीय प्रजातान्त्रिक व्यवस्था सुरु भएसँगै राजनीति बहुरुपी बन्दै गयो ।

अहिलेको नेपालको राजनीति मुख्यमन्त्री बानियाँले भनेजस्तो पक्कै छैन । अहिले राजनीति पेसा, व्यापार, जागिर, सेवामात्र होइन अरु धेरै रुपमा फैलिइरहेको छ । अहिलेका राजनीतिक दलका नेता, कार्यकर्ता विशुद्ध राजनीतिमा संलग्न निकै कम भेटिन्छन् । राजनीतिकै आडमा अनेकौं कर्म भइरहेका छन् । देशका ठूला व्यापारिक घरानाका व्यक्तिहरु कुनै न कुनै राजनीतिक दलमा आवद्ध छन् । कयौं व्यवसायी दलका तर्फबाट सांसदमात्र होइन, मन्त्रीसमेत बनेका छन् । बागमतीका मुख्यमन्त्री बनेका बानियाँ ठूलै व्यवसायीका रुपमा परिचित छन् । निर्माण व्यवसायी बानियाँले क्रसर, रेडिमिक्स, रियलस्टेट, सिमेन्टलगायत उद्योगमा लगानी गरेका छन् । व्यावसायिक क्षेत्रमा जम्दै गएका बानियाँलाई राजनीतिले पक्कै सहयोग गरेकै हुनुपर्छ । व्यवसायबाट आर्थिक हैसियत बनाएका बानियाँलाई सामाजिक हैसियत कायम गर्न राजनीति आवश्यक भएकै कारण उनी राजनीतिमा सक्रिय भएको स्पष्ट छ ।

राजनीति र व्यापार, व्यवसाय एकसाथ अघि बढाउनु हुँदैन । मुख्यमन्त्री भइसकेपछि बानियाँले व्यवसायमा प्रत्यक्ष संलग्न हुन भ्याउँदैनन् । राजनीतिको एक उच्च पदमा पुगेपछि बानियाँले राजनीति र व्यापार एकै होइन भनेर आदर्शका कुरा गरेका मात्र हुन् । बानियाँले राजनीति र व्यवसायमध्ये एउटामात्र छान्न सक्दैनन् । नेताले जे भन्छन्, त्यो गर्दैनन् भन्ने मान्यता नेपाली राजनीतिको विशेषता हो, जसलाई बानियाँले मुख्यमन्त्री हुनेबित्तिकै पुष्टि गरिदिएका छन् । व्यावसायिक स्वार्थ बाझिने गरी मन्त्रालय तथा संसदीय समितिको नेतृत्व लिनेहरु हावी रहेको नेपालको राजनीति र व्यापार पर्यायजस्तै मान्न सकिन्छ । मुख्यमन्त्री पदलाई आफ्नो व्यावसायिक स्वार्थमा प्रयोग गरेनन् भने त्यो नै बानियाँको महानता हुनेछ ।