Home मुख्य समाचार विश्व स्तनपान सप्ताहको अवसरमा अस्पतालमा नाटक प्रदर्शन

विश्व स्तनपान सप्ताहको अवसरमा अस्पतालमा नाटक प्रदर्शन

नाटक मञ्चन गरिँदै ।

हेटौंडा : ३३ औं विश्व स्तनपान सप्ताहको अवसरमा हेटौंडा अस्पतालमा नाटक प्रदर्शनी गरेको छ । बुधबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीएससी अध्ययनरत बिद्यार्थी तथा हेटौंडा अस्पतालका कर्मचारीहरुले संयुक्तरुपमा अस्पताल परिसरमा चेतनामूलक नाटक प्रदर्शन गरेका हुन् ।

प्रतिष्ठानका रजिष्ट्रार भीमसागर गुरागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा मातृशिशु स्वास्थ्यमा स्तनपानले हुने फाइदाका बारेमा नाटक प्रदर्शन गरिएको थियो । नाटकका कलाकारहरुले स्तनपान गराउने तरिका, समयावधि तथा स्तनपान गराउनु पर्ने उमेर, आमाको दुध स्टोर र प्रयोग कसरी गर्ने भन्नेबारेमा चेतनामूलक जानकारी दिएका थिए ।

कार्यक्रममा बोल्दै हेटौंडा अस्पतालका बालरोग बिशेषज्ञ हरिबहादुर खड्काले स्तनपानले बच्चालाई अमृत सेवन गरे बराबर काम गर्ने बताउनुभयो । उहाँले आमाको दुध बराबर कुनै जनावरको दुध नहुने भन्दै स्तपानबाट बच्चामा रोग प्रतिरोधात्मक क्षमता बढाउने तथा मष्तिष्कको छिटो बिकास गराउने र बच्चाको हड्डी बलियो हुनेलगायतका फाइदाहरु हुने बताउनुभयो । उहाँले नेपाल सरकारले पनि आफ्ना महिला कर्मचारीहरुलाई स्तनपान गराउन समय दिएको बताउनुभयो ।

कार्यक्रममा हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईं, प्रतिष्ठानमा कार्यरत प्राध्यापकहरु, अस्पतालका कर्मचारीहरु, विद्यार्थीहरु तथा अस्पतालको मातृशिशु वार्डमा रहेका सुत्केरी तथा उनीहरुका आफन्तहरुको उपस्थिति रहेको थियो । स्तनपानलाई प्राथमिकता दिऔं, दिगो समर्थन प्रणाली निर्माण गरौं भन्ने मुल नारासहित अगष्ट १ तारिखदेखि ७ तारिखसम्म विश्व स्तनपान सप्ताह विविध कार्यक्रम गरी मनाइँदै छ ।

Exit mobile version