हेटौँडा : हेटौँडा–२ स्थित सिद्धार्थ ल क्याम्पस साविक श्रीदेवी प्राथमिक विद्यालयको भवनमा सञ्चालन हुने भएको छ । हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको भवनमा सञ्चालन हुँदै आएको सिद्धार्थ ल क्याम्पस साविकको श्रीदेवी प्राथमिक विद्यालयको भवनमा स्थानान्तरण गरिएको हो ।
नयाँ विद्यार्थी भर्नासँगै विद्यार्थी संख्या बढ्दा कक्षाकोठाको अभाव हुने आँकलन गर्दै क्याम्पसले गत बिहीबारदेखि वनस्खण्डीस्थित सिद्धार्थ माविले नै प्रयोग गर्दै आएको साविक श्रीदेवी प्राथमिक विद्यालयको भवनमा स्थानान्तरण गरेको हो । यसअघि सिद्धार्थ माविसँग १२ कोठा प्राप्त गर्ने सम्झौता गरेको क्याम्पसले विद्यालयको मुख्य भवनमा कक्षा कोठाको अभावले २ कक्षाकोठा मात्रै प्रयोग गरेको थियो । तर वनस्खण्डीस्थित भवनमा १२ वटा कक्षाकोठा प्रयोग गर्न पाउने भएको छ ।
कक्षा १२ को नतिजा प्रकाशनपछि नयाँ विद्यार्थी भर्ना गरिने हुँदा विद्यार्थी र कक्षाकोठा दुवै थप गर्नुपर्ने आवश्यकता रहँदै आएको थियो । हाल यस क्याम्पसमा कानुन स्नातक स्तरको पहिलो वर्षमा ३० जना विद्यार्थीहरु अध्ययनरत छन् । प्रतिवर्ष ७० जना कोटा रहेकोमा यसवर्ष कोटा अनुरुपकै विद्यार्थी भर्ना हुने अनुमान रहेको क्याम्पस प्रमुख जयराम सुवेदीले जानकारी दिनुभयो । उहाँले पहिले एउटै कम्पाउन्डभित्र विद्यालय र क्याम्पस दुवै सञ्चालन गर्न असहज भएपनि भवन परिवर्तनपछि सहज हुने बताउनुभयो । सिद्धार्थ क्याम्पस स्थानान्तरण भएको क्षेत्रको नगरप्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, वडाध्यक्ष विष्णुगोपाल महर्जनले पनि अवलोकन गर्नुभएको छ ।











