हेटौँडा–१० स्थित संस्कृत वेद विद्यालयमा खाद्यान्न सामग्री हस्तान्तरणपछि सहयोगको भौचर ग्रहण गर्नुहुँदै संघका अध्यक्ष प्रमोदसिंह रानाभाट ।

हेटौँडा : मकवानपुर उद्योग वाणिज्य संघको ५९औं स्थापना दिवसको अवसरमा हेटौँडाका दुई संस्कृत विद्यालयमा खाद्यान्न वितरण गरिएको छ । संघले हेटौँडा–१०, राप्तीतट गोरक्षश्वरधाममा रहेको संस्कृत वेद विद्यालय र हेटौँडा–१८, हर्नामाडीस्थित वैदिक संस्कृत गुरुकुलम्लाई खाद्यान्न सहयोग गरेको हो । आइतबार दुवै विद्यालयमा पुगेर खाद्यान्न हस्तान्तरण गरिएको हो ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानभाट नेतृत्वको टोली विद्यालय पुगेका थिए । संस्कृत वेद विद्यालयलाई खाद्यान्न हस्तन्तरण कार्यक्रममा वडाअध्यक्ष फुर्वा दोर्जे लामाको प्रमुख आतिथ्य रहेको थियो भने विद्यालयका प्रधानाध्यापक गणेश धितालको पनि आतिथ्य रहेको थियो । संस्कृत वेद विद्यालयमा ४० जना विद्यार्थी अध्ययनरत छन् ।

यसैगरी हेटौँडा–१८ स्थित वैदिक संस्कृत गुरुकुलम्मा वडा अध्यक्ष अनिल बानियाँ, विद्यालयका उपाध्यक्ष केशवराज पण्डित, संघका सचिव नेत्रप्रसाद खतिवडा, महिला उद्यमी विकास समितिका सभापति सितादेवी भेटवाल, कार्यसमिति सदस्य भुपेन्द्र अधिकारीलगायतको आतिथ्य रहेको थियो । विद्यालयमा १९ जना विद्यार्थी र तीनजना शिक्षक छन् । विद्यालयका उपाध्यक्ष केशवराज पण्डितले अत्यावश्यक रहेको समयमा खाद्यान्न सहयोग भएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।