हेटौंडा : हेटौंडामा आयोजना भएको शैक्षिक तीज गीत प्रतियोगिता बकैया गाउँपालिकाले जितेको छ । नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति मकवानपुर महिला विभागले शनिबार रोयल प्यालेसमा कार्यक्रम आयोजना गरेको थियो ।
मकवानपुर जिल्लाका ६ वटा पालिकाको सहभागिता रहेको प्रतियोगितामा बकैया गाउँपालिकाको रमा लामिछाने, लक्ष्मी जमकट्टेल र नवीना बरालको समूह प्रथम भएको छ । हेटौंडा उपमहानगरपालिकाका सुप्रिया चौलागाईं, लक्ष्मी अधिकारी र रिनु चौलागाईंको समूह दोस्रो भएको छ । प्रतियोगितामा मकवानपुरगढी गाउँपालिकाका इन्दिरा अधिकार, कल्पना गौतम र चण्डिका सञ्जेलको समूह तृतीय भएको थियो ।
मकवानपुरका हेटौंडा उपमहानगरपालिकासहित बकैया, मकवानपुरगढी, इन्द्रसरोवर, मनहरी र भीमफेदी गाउँपालिकाले प्रतियोगितामा सहभागिता जनाएका थिए । इन्द्रसरोवरबाट सरस्वती घोरासैनी र रीता कार्की सहभागी थिए । मनहरी गाउँपालिकाको तर्फबाट विमला बिडारी, सुधा मैनाली र सरिता पाठक सहभागी रहेकोमा भीमफेदीको तर्फबाट सुमित्रा अर्याल, माधवी सापकोटा र सुशीला आलेमगर सहभागी थिए ।
नेपाल शिक्षक संघ मकवानपुरको महिला उपाध्यक्ष तथा महिला विभाग संयोजक निर्मला तिमल्सिनाको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममका नेपाल शिक्षक संघ बागमती प्रदेश कार्यसमिति उपाध्यक्ष कमला थापाको प्रमुख आतिथ्य थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ तथा नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश हुमागाईंको विशिष्ट आतिथ्य थियो । प्रतियोगिताको निर्णायकमा हयग्रीव आचार्य, राजकुमार सापकोटा र सुनिता लुईंटेल रहेका थिए ।











