हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले राखेको सर्त पूरा हुने भएपछि आइतबार पदबाट राजीनामा दिनुहुने भएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग शनिबार बूढानिलकण्ठमा भएको छलफलपछि लामा सशर्त राजीनामा दिन तयार हुनुभएको हो ।
देउवाको उपस्थितिमा भएको छलफलमा लामाले साउन १४ गते मन्त्री नियुक्त गर्नुभएका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई निरन्तरता दिने शर्तमा पदत्याग गर्न सहमति भएको लामा निकट प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले जानकारी दिनुभएको छ । ‘हामीले तीन जना मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुपर्ने अडान राख्यौँ । सभापतिज्यू र इन्द्रजीले सहमति जनाउनुभयो,’ चित्रकारले भन्नुभयो, ‘त्यसपछि मुख्यमन्त्रीले आइतबार राजीनामा दिने निर्णय भएको हो ।’
आइतबार हेटौँडामा मन्त्रीपरिषद्को बैठक बसेर पत्रकार सम्मेलन गरेपछि राजीनामा दिने उहाँले स्पष्ट पार्नुभयो । मुख्यमन्त्री लामा साउन १४ गते पार्टी संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित हुनुभएको थियो । दलको नेतामा हार बेहोरेपछि उहाँलाई पार्टीभित्रबाट राजीनामा दिन दबाव बढेको थियो ।
सभापति देउवाले शुक्रबार लामालाई निवासमा बोलाएर राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएको थियो । शनिबारको छलफलमा बानियाँ, लामा र लामाको पक्षमा रहेका १४ जना प्रदेशसभा सदस्य सहभागी थिए । छलफलमा पार्टीभित्रको विभाजनलाई मिलाएर अघि बढ्ने विषयमा पनि सहमति भएको चित्रकारले बताउनुभयो । मुख्यमन्त्री लामाले राजीनामाको तयारी गरेपनि प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा भने अस्पताल डिस्चार्ज हुनुभएको छैन । मुत्र थैलीमा संक्रमण भएपछि गत बिहीबार अस्पताल भर्ना भएका प्रदेश प्रमुख देवकोटा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचाररत हुनुहुन्छ ।










