हेटौँडा : छिमेककै एक पुरुषले पैसाका लागि ब्ल्याकमेल गरेपछि हेटौँडा–८ कमानेकी एक महिलाले आत्महत्या प्रयास गरेकी छिन् । हेटौँडा–८ का सुरज कार्कीले सामाजिक सञ्जालमार्फत परपुरुषसँगको अनैतिक सम्बन्धबारे आफूलाई जानकारी रहेको र पैसा नदिए अनैतिक सम्बन्धका बारेमा सार्वजनिक गर्ने चेतावनी दिएपछि महिलाले गत शुक्रबार आत्महत्या प्रयास गरेकी हुन् ।
३८ वर्षीय महिलाले विष सेवन गरेर आत्महत्या प्रयास गरेकी थिइन् । विष सेवन गरेको ३ दिनपछि मात्रै स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि चितवन लगिए पनि महिलाको स्वास्थ्यमा सुधार नभएको र विषको असरका कारण उनको ज्यान नै जोखिममा रहेको परिवारका सदस्यको भनाइ छ । पीडित पक्षले बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दा दर्ता गराएको छ ।
कार्की हाल फरार रहेको र प्रहरीले आवश्यक अनुसन्धान गरी खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभएको छ । विष सेवन गर्ने महिला अहिले हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचाररत छिन् । महिलालाई आत्महत्या गर्न बाध्य पारेको भन्दै कमानेका स्थानीयले कार्कीको घरमा तोडफोड समेत गरेका छन् ।










