हेटौँडा : मकवानपुरका विद्यालयमा कम्प्युटर विज्ञान विषय अध्यापन गराउने शिक्षकहरुका लागि अनलाइनमा बालसंरक्षणसम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ । सिविन नेपालले हेटौँडामा बिहीबार एक दिवसीय कार्यक्रमको आयोजना गरेको हो । माध्यमिक तहमा कम्प्युटर विज्ञान पढाइ हुने मकवानपुरका ४१ मध्ये ४० विद्यालयका शिक्षक कार्यक्रममा सहभागी थिए ।
विद्यालय तहका बालबालिका नै अनलाइनमा आधारित अपराधमा पीडित भएका, अपराधमा संलग्न समेत रहेका पाइएपछि सिविन नेपालले पाठ्यक्रममै बाल संरक्षण सम्बन्धी विषयलाई समावेश गर्न माग गर्दै आएको थियो । हालै सरकारले माध्यमिक तहको कम्प्युटर विज्ञान विषयको पाठ्यक्रममा अनलाइनमा आधारित बालसंरक्षण सम्बन्धी विषयलाई समावेश गरेसँगै सिविनले शिक्षकका लागि अभिमुखीकरण आयोजना गरेको हो । अभिमुखीकरणमा पाठ्यक्रम निर्माता विमल थापाले नै सहजीकरण गर्नुभएको छ ।
अभिमुखीकरणको उद्घाटन कार्यक्रममा बागमती प्रदेश सरकार मातहतको शिक्षा विकास निर्देशनालयका महानिर्देशक खुविराम अधिकारी, राष्ट्रिय परीक्षा बोर्डको हेटौँडास्थित कार्यालयका प्रमुख बद्रिबहादुर पाठक, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदीप गिरी, मकवानपुरगढी गाउँपालिकाको शिक्षा शाखाका प्रमुख रामबहादुर घलानको पनि आतिथ्य रहेको थियो ।
