हेटौंडाः त्रिभुवन विश्वविद्यालय अन्तर्गतको स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा आइतवारदेखि सुरु भएको छ । स्नातक प्रथम वर्ष नियमिततर्फको परीक्षामा जिल्लाका १ हजार १ सय ५५ जना परीक्षार्थी सहभागी भएका छन् ।

मकवानपुर जिल्लाका विभिन्न क्याम्पसहरुको शिक्षा संकायको परीक्षा हेटौंडास्थित मकवानपुर बहुमुखी क्याम्पसमा भइरहेको छ । शिक्षा संकायतर्फ परीक्षा दिने विद्यार्थी २ सय ७३ जना रहेका छन् । जसमध्ये मकवानपुर बहुमुखी क्याम्पसका १ सय ३६ जना, हेटौंडा क्याम्पसका ७७ जना, वंशगोपाल बहुमुखी क्याम्पसका २९ जना र निर्मल बहुमुखी क्याम्पसका ३१ जना विद्यार्थीहरु परीक्षामा सहभागी रहेको त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

व्यवस्थापन, विज्ञान र मानविकी संकायको परीक्षा केन्द्र हेटौंडा क्याम्पसमा रहेको छ । मानविकी संकायतर्फ मकवानपुर बहुमुखी क्याम्पसका ५२ जना, हेटौंडा क्याम्पसका १ जना र पालुङ्ग क्याम्पसका २१ जना गरी जम्मा ७४ जना विद्यार्थी रहेका छन् । विज्ञान संकायतर्फ मकवानपुर बहुमुखी क्याम्पसका ४४ जना विद्यार्थी रहेका छन् ।

यस्तै, व्यवस्थापन संकायतर्फ परीक्षा दिने विद्यार्थीहरु ७ सय ६४ जना रहेका छन् । मकवानपुर बहुमुखी क्याम्पसका ५ सय १८ जना, हेटौंडा क्याम्पसका ९६ जना, हेटौंडा स्कूल अफ म्यानेजमेन्टका ५० जना, पालुङ्ग क्याम्पसका ९ जना, वंशगोपाल बहुमुखी क्याम्पस चौघडाका २८ जना, नारायणी कलेज हेटौंडाका १६ जना, निर्मल बहुमुखी क्याम्पसका १५ जना, पदमपोखरी बहुमुखी क्याम्पसका १६ जना र मनहरी बहुमुखी क्याम्पसका १६ जना रहेका छन् । परीक्षा साउन २२ गतेसम्म सञ्चालन हुनेछ ।