हेटौँडा : बागमती प्रदेशको दुई जिल्लामा छुट्टाछुट्टै घटनामा एकैदिन दुई बालक गम्भीर घाइते भएका छन् । आइतबार सिन्धुपाल्चोकमा खोलेमा डुबेर र सिन्धुलीमा पेट्रोल सेवन गरेर २ बालक गम्भीर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१०, धारापानीमा तातो खोलेमा डुबेर एक बालक गम्भीर घाइते भएका छन् । आइतबार बिहान ६ बजेर ३० मिनेटको समयमा गाईबस्तुका लागि पकाइएको तातो खोलेमा डुबेर ४ वर्षीय क्रिस तोलाङ्गे घाइते भएको प्रहरीले जानकारी दिएको छ । बालक घरको भुइँमा हिँड्ने क्रममा तातो खोलेतर्फ अनियन्त्रित भई लड्दा भाँडामै डुबेका थिए । बालकको छाती तथा ढाडमा गम्भीर रुपमा पोलेको र तत्काल बोल्नसमेत नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । बालकको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, सिन्धुलीको दुधौली नगरपालिका–१४, आपटारमा १४ महिनाका बालक पेट्रोल सेवन गरी गम्भीर घाइते भएका छन् । आइतबार दिउँसो १ बजेको समयमा दुधौलीका १४ महिने आयुष सार्कीले पेट्रोल सेवन गरेको प्रहरीले जानकारी दिएको छ । बालकले तारा बहादुर खड्काको पसलमा बिर्को नलगाई डिउको बोतलमा राखिएको पेट्रोल सेवन गरेका थिए । बालकको अवस्था गम्भीर रहेको छ । बालकको धरानस्थित घोपा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।
















