मुख्यमन्त्री बहादुर सिंह लामा । फाइल तस्वीर ।

हेटौँडा : नेपाली काँग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेता बहादुर सिंह लामाले आफू माथि परेको अविश्वास प्रस्ताव सामना गर्न विभिन्न रणनीति निर्माण गर्नुभएको छ । सोमबार बस्ने कांग्रेस संसदीय दलको बैठकमा छलफल र निर्णयको तयारी भइरहेको उहाँ विरुद्धको अविश्वास प्रस्ताव सामना गर्ने विषयमा मुख्यमन्त्री लामाले समय लम्ब्याउनेदेखि प्रदेशसभा विघटनसम्मको रणनीति निर्माण गर्नुभएको बुझिएको छ ।

उहाँले संसदीय दलमा आफू विरुद्धको अविश्वास प्रस्ताव पेश भएपछि २४ घण्टा समय दिनुपर्ने माग गर्ने पहिलो रणनीति लिनुभएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले दक्षिण कोरिया भ्रमणमा रहेको र नफर्केकाले तत्काल सो प्रस्ताव माथि छलफल नगर्न उहाँको माग हुनेछ । उक्त माग सफल भएको खण्डमा उहाँ पुनः कांग्रेसका शीर्ष नेता र प्रदेशसभा सदस्यहरुसँग आफूलाई सहयोगका लागि लविङ्ग गर्ने रणनीतिमा रहनुभएको छ भने विफल भएको खण्डमा दल नेता बिना नै कोशी नजीर देखाएर मुख्यमन्त्री कायम रहने रणनीतिमा हुनुहुन्छ । कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीको नजीर अनुसार आफूलाई मुख्यमन्त्रीबाट हटाउन नसक्ने उहाँको निश्कर्ष रहेको छ ।

तर, कांग्रेसको संसदीय अभ्यासमा दलको नेता नै मुख्यमन्त्री बन्नेछन् । सो अभ्यास तोड्दै उहाँ मुख्यमन्त्री कायम रहने योजनामा हुनुहुन्छ । सो विषयमा कांग्रेस संसदीय दल र पार्टीबाट दवाव आएमा उहाँले प्रदेशसभा विघटनको अधिकार समेत प्रयोग गर्ने रणनीतिमा हुनुहुन्छ । सो विषयमा साझेदार दल एमालेका प्रदेशसभा सदस्य र नेताहरुले पनि सुझाव दिएको मुख्यमन्त्री लामाको स्वीकारोक्ति रहेको छ । सो रणनीति अन्तिम विकल्पका रुपमा प्रयोग गर्नेगरी छलफलमा रहेको उहाँले बताउनुभयो ।

‘अविश्वास प्रस्ताव फेस गर्ने विषयमा म तयार छु । मैले केही समय माग गरेको छु । प्रक्रिया पूरा गर्न पनि समय आवश्यक हुन्छ । हाम्रा केही साथीहरु विदेशमा हुनुहुन्छ । फर्किन त दिनु पर्‍यो नि । जबर्जस्ती गर्नु भएन भनेर भनेको छु’, उहाँले भन्नुभयो, ‘अब प्रक्रियाबाट अघि बढ्दा मैले दलको नेता नहुँदैमा मुख्यमन्त्री हुन नहुने अवस्था होइन । विभिन्न उपायहररु छन् । म मुख्यमन्त्रीबाट तुरुन्तै हट्दिन । मसँग थुप्रै विकल्प छन् । साझेदार दलले पनि विभिन्न रणनीतिमा सल्लाह दिनु भएको छ । सबै विषयमा समय परिस्थिती अनुकल निर्णय गर्छु । प्रदेशसभा विघटनको पनि सुझाव आएको छ । यदि अनुकल भएन भने त अन्तिम उपायको रुपमा प्रदेशसभा विघटनको रणनीति छ । सबैले विधि विधानमा अनुसार चल्नुपर्छ । विधि विधानभन्दा बाहिर जानु हुँदैन । म त्यही अनुसार निर्णय गर्छु । मेरो अन्तिम प्रहार प्रदेशसभा विघटन हो । अवस्थाले, परिस्थितिले सिर्जना गर्यो भने प्रदेशसभा विघटनको निर्णय गर्नु सकिन्छ’, उहाँले भन्नुभयो ।

उहाँका अनुसार कांग्रेस शीर्ष नेताहरु आफू विरुद्धमा लाग्दा समस्या भएको छ । आफू माथि कार्यसम्पादनमा मात्र नभई विशेषगरी शिवराज अधिकारीलाई मन्त्री नबनाएको विषयलाई लिएर नेताहरु नै लागेर अविश्वास प्रस्ताव आएको उहाँले बताउनुभयो । अन्य प्रदेशसभा सदस्यहरुबाट शिवराज अधिकारीलाई उक्साउने काम बारम्बर हुने र उहाँ पनि मेरो विषयलाई लिएर कांग्रेस सभापति समक्ष निरन्तर जाँदा अविश्वासको प्रस्ताव आएको उहाँको निश्कर्ष रहेको छ ।

‘पार्टी सभापतिलाई कुरा लाउने बढी भए । बजेटको विषयमा अलि विवाद भयो । आर्थिक मामिला मन्त्रीको बर्खास्तीका विषयमा पनि कुरा आए । विदेशबाट फर्केपछि सल्लाह गर्ने योजना पनि थियो । तर, त्यभन्दा अघि नै अविश्वासको प्रस्ताव हाल्नुभयो’, उहाँले भन्नुभयो ।