अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) को वार्षिक समीक्षामा सहभागीहरु ।

हेटौंडा : हेटौंडा अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा उपचार तथा परामर्शका लागि आउने विभिन्न हिंसा पीडितहरु कानुनी प्रक्रियामा जान नमान्ने गरेको केन्द्रले जनाएको छ । आइतबार केन्द्रले १ वर्षभित्र सम्पन्न गरेका कार्यविवरण प्रस्तुति तथा प्रगति समीक्षा गर्दै यस्तो समस्या उजागर गरेको हो ।

कार्यक्रममा एक वर्षमा गरेको कार्यहरुको विवरण प्रस्तुत गर्दै केन्द्रकी स्टाफ नर्स सविता सापकोटाले १८ वर्षभन्दा मुनिको यौन हिंसामा परेका तथा जबरजस्ती करणीमा परेका पीडितहरु साधारण उपचार गरेर घर जान खोज्ने गरेको बताउनुभयो । भविष्यमा कानुनी उल्झन हुने तथा गोपनीयता नरहने आशंकामा कानुनी प्रक्रियामा जान नमान्ने गरेको उहाँले बताउनुभएको छ ।

स्टाफ नर्स सापकोटाले कतिपय पीडितहरु जबरजस्ती करणीको घटनामा आफ्नै नातेदार संलग्न रहेकोले समस्या हुने भन्दै न्यायका लागि जान डराउने गरेको जानकारी दिनुभयो । आफूहरुले पीडितको पूर्ण गोपनीयता कायम गर्ने गरेको भए पनि प्रहरीमा मुद्दा गएपछि गोप्य रहँदैन भन्ने डर पीडितलाई हुने गरेको उहाँको भनाइ छ ।

केन्द्रका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा हिंसामा परेका २ सय ८७ जनाले सेवा प्राप्त गरेका थिए । गत वर्ष नयाँ दर्ता भएका २ सय जना र ८७ जना अघिल्लो वर्षबाट प्रक्रिया अघि बढाइएका सेवाग्राहीले सेवा प्राप्त गरेका हुन् । गत वर्ष २ सय ७४ जना र १२ जना पुरुष लैङ्गिक हिंसापीडितले उपचार तथा अन्य सेवा लिएका छन् ।

केन्द्रको तथ्याङ्कअनुसार गत वर्ष सबैभन्दा बढी जबरजस्ती करणीमा परेका ८२ जनाले उपचार सेवा लिएका छन् । त्यस्तै, ५० जनाले घरेलु हिंसा भएको र शारीरिक हिंसा (कुटपिट) लगायतका हिंसा पीडितहरुले सेवा लिएका छन् । यौनजन्य हिंसामा परेकामध्ये १४ वर्ष मुनिका २७ जना, १५ देखि ४९ वर्ष उमेर समूहका ६१ जना, ५० देखि ६० वर्ष उमेर समूहका ६ जना र ६० वर्ष माथिका एक जना महिला रहेको केन्द्रको तथ्याङ्क छ । पीडितहरुमध्ये सबैभन्दा धेरै ४६ जना आप्mनै श्रीमानबाट हिंसामा परेका छन् ।

एक वर्षमा अन्य जिल्लाका हिंसापीडित ३३ जनालाई समेत उपचार गरेको केन्द्रले अघिल्लो वर्ष २६ लाख विनियोजन भएकोमध्ये २५ लाख ७५ हजार खर्च भएको जानकारी दिएको छ । केन्द्रले २ जना हिंसा पीडित सेवाग्राहीलाई उपचारपश्चात् पुनस्र्थापनाका लागि आर्थिक सहयोग गरेको छ । एक जनालाई ३८ हजार बराबरको घुम्ती पसल सामग्री र एक जनालाई बाख्रापालनका लागि ३७ हजार रुपैयाँ प्रदान गरिएको जानकारी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको सभाध्यक्षतामा भएको समीक्षा कार्यक्रममा स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजार, हेटौंडा उपमहानगरपालिकाकी निर्देशक विष्णुकुमारी लामिछाने, जिल्ला बार एसोसियसनका अधिवक्ता उत्तमकुमार बस्नेत, जिल्ला सेवा केन्द्रकी प्रमुख बिन्दा बर्तौला, माइती नेपालकी कार्यक्रम संयोजक माया लामा, प्रहरी उपरीक्षक विश्वराज खड्कालगायतको सहभागिता थियो ।