हेटौंडा : मानवसेवा आश्रम हेटौंडाले हेटौंडा बजार क्षेत्रबाट एक बालिकासहित चार जनाको उद्दार गरेको छ । शनिबार रात्रिकालीन सडक सेवा अभियान अन्तर्गत चार जना सडकमा आश्रित नागरिकको उद्दार गरेको हो ।
आश्रमले एक बालिका, दुई महिला र एक पुरुषलाई उद्दार गरेको हो । उनीहरुलाई आश्रममा लगेर नुहाइधुवाइ, खाना, स्वास्थ्य परीक्षण तथा प्राथमिक उपचार सेवा प्रदान गरिएको आश्रमले जानकारी दिएको छ । सप्ताहिकरूपमा सञ्चालन गर्दै आएको यस सेवामार्फत् बेवारिसे, घरवारविहीन तथा मानसिक असन्तुलनमा रहेका व्यक्तिहरूको उद्दार गरी उनीहरूलाई सुरक्षित आवास, स्वास्थ्य उपचार तथा सामाजिक पुनःस्थापनाको व्यवस्था गरिँदै आएको आश्रमले जनाएको छ । उद्दार टोलीले सीमाचोकदेखि बसपार्क, राप्ती रोड हुँदै स्वर्गद्वारी क्षेत्रसम्मको सडक खण्डमा सेवा सञ्चालन गरेको थियो ।
अभियानमा मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा, मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी, नगरप्रहरी, जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मीहरू तथा स्वयम्सेवकहरूको सक्रिय रहेको थियो । अभियानमा देशका २२ वटा जिल्लाबाट आएका मानवसेवा आश्रमका जिल्ला संयोजकहरूको पनि उपस्थिति रहेको थियो ।
















