हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको पद धरापमा परेको छ । संसदीय दलको नेताबाट हटाउन माग गर्दै कांग्रेसका २१ जना प्रदेशसभा सदस्यले हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरेसँगै उहाँको पद धरापमा परेको हो ।

मुख्यमन्त्री लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन कांग्रेसका शीर्ष ४ नेताहरुले मोर्चाबन्दी कसेको आरोप छ । नेता शेखर कोइराला, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र नेता मोहनबहादुर बस्नेत बाहेकका शिर्ष ५ नेताहरुले मुख्यमन्त्री लामाविरुद्ध मोर्चा कसेको उनको सचिवालयको आरोप छ । मुख्यमन्त्री लामाका सचिवालयका एक सदस्यका अनुसार संसदीय दलको नेताबाट हटाउन कांग्रेस सभापति शेरबहादुर देउवासहित महामन्त्री गगन कुमार थापा, प्रवक्ता प्रकाशशरण महत, नेता प्रकाशमान सिंह र नेता बालकृष्ण खाँडले मोर्चाबन्दी गरेका छन् । उल्लेखित नेताहरुले आफू निकट प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री विरुद्ध हस्ताक्षर गर्न लगाएको उनको आरोप छ ।

प्रदेशसभा सदस्यहरुले अविश्वास प्रस्तावमा देखाएका आरोप भन्दा पनि नेताहरुबाट परिचालित भएर संसदीय दलको नेताबाट हटाउन हस्ताक्षर गरेको उनको भनाई छ । प्रदेशसभाका कांग्रेसका ३७ सदस्य मध्ये नेता शेखर कोइराला निकटका ४ जनाले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छैनन् । जसमा चितवनका उत्तम जोशी, गीता गुरुङ, नुवाकोटका रमेशकुमार महत र सिन्धुलीका रामकुमार पहाडी रहेका छन् । सहमहामन्त्री डिना निकटका २ जना प्रदेशसभा सदस्य पनि बानियाँ विरुद्धमा उभिएका छन् । काठमाडौंकी समिता खड्गी र मकवानपुरकी लक्ष्मीदेवी श्रेष्ठले मुख्यमन्त्री लामाको पक्षमा उभिएका छन् । त्यसो त सहमहामन्त्री डिना कुनैपनि अवस्थामा सभापति बानियाँलाई मुख्यमन्त्री बन्न नदिने जोडमा हुनुहुन्छ ।

नेता मोहन बहादुर बस्नेत निकटका २ प्रदेशसभा सदस्य कृष्णकुमार श्रेष्ठ र मसिना खड्काले पनि मुख्यमन्त्री लामा विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नुभएको छैन । सभापति देउवा, प्रवक्ता महत र नेता प्रकाशमान सिंह निकटका प्रदेशसभा सदस्यहरु भने मुख्यमन्त्री लामा विरुद्धको अविश्वास प्रस्तावमा बाँडिएका छन् । सभापति देउवा निकटका प्रदेशसभा सदस्य तीर्थ लामा, छत्रबहादुर बोम्जनले विगतदेखि नै मुख्यमन्त्री लामालाई सघाउँदै आउनुभएको छ । जसका कारण उहाँहरुले मुख्यमन्त्रीको अविश्वासको प्रस्तावमा सघाउनुभएको छैन भने धादिङका गोविन्द लम्साल पनि सभापति देउवा निकट रहेपनि पछिल्लो समय मुख्यमन्त्री लामालाई सहयोग गर्दै आउनुभएको छ ।

नेता प्रकाशशरण महत निकटका काठमाडांैका श्याम बहादुर खड्काले मुख्यमन्त्री लामा विरुद्ध हस्ताक्षर गर्नुभएको छैन । उहाँ प्रदेशको खानेपानी उर्जा तथा सिंचाई मन्त्री हुनुहुन्छ । नेता प्रकाशमान सिंह निकटका ललितपुरका रामकृष्ण चित्रकार, काठमाडौंकी हरिप्रभा खड्गीले पनि मुख्यमन्त्री लामा विरुद्ध हस्ताक्षर गर्नुभएको छैन । खड्गी प्रदेशको सामाजिक विकास मन्त्री हुनुहुन्छ । मकवानपुरकी लक्ष्मी देवी श्रेष्ठ र काठमाडौंकी समिता खड्गी भने सहमहामनत्री डिना निकट हुनुहुन्छ ।

अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रदेशसभा सदस्यहरु :
प्रदेश सभापति बानियाँ निकटका रहेका ४ जना प्रदेशसभा सदस्यहरु मुख्यमन्त्री लामाको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । युवा तथा खेलकुद मन्त्रीबाट राजिनामा दिएका मीनकृष्ण महर्जन, विनु रायमाझी, प्रभात तामाङ र छिरिङ दोर्जे लामा बानियाँ निकट रहेका छन् । गत २०७९ माघमा सम्पन्न संसदीद दलको नेताको निर्वाचनमा १६ मत पाएका बानियाँले ५ जना सांसदलाई आफू निकट ल्याउन सफल भएका छन् । जसमा प्रकाशशरण महत निकट रहेका माया श्रेष्ठ, उर्मिला नेपाल, सुना परियार, सभापति देउवा निकटका विमल ठकुरी र शिवराज अधिकारी रहेका छन् ।