हेटौँडा : बागमती प्रदेश सरकारबाट राजिनामा दिएका ४ जना मन्त्री पदमुक्त भएको मुख्यमन्त्री बहादुर सिंह लामाले सूचित गर्नुभएको छ । शुक्रबार दिउँसो ह्वाट्सयापमार्फत राजिनामा बुझाएका ४ मन्त्री पदमुक्त भएको मुख्यमन्त्री लामाले शुक्रबार साँझ प्रदेश प्रमुखलाई जानकारी गराउनुभएको छ ।
नेपाली काँग्रेसबाट मन्त्री बनेका संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेलाई पदमुक्त गरिएको मुख्यमन्त्री लामाले जानकारी गराउनुभएको छ । बागमती सरकारमा मुख्यमन्त्रीसहित कांग्रेसबाट सरकारमा ८ जना सामेल थिए । तीमध्ये चार जनाले राजिनामा दिएका हुन् ।
मुख्यमन्त्री लामाले नेपालको संविधान २०७२ को धारा १६९ (२) ख बमोजिम मन्त्रीहरुलाई पदमुक्त गरिएको जानकारी गराउनुभएको छ । ४ जना मन्त्रीले राजिनामा दिएसँगै मुख्यमन्त्री बहादुर सिंह लामा विरुद्ध शुक्रबार दिउँसो ४ मन्त्रीसहित २१ जना प्रदेशसभा सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
